काठमाडौं । नेपालमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ । कोरोना भाइरसको महामारीले ओरालो लागेको पर्यटन क्षेत्र विस्तारै उकालो चढ्न थालेको हो । अहिले धमाधम होटलमा लगानी बढिरहेको पाइएको छ । अहिले लगानीकर्ताहरूको आकर्षण मुलुकको होटल तथा रेस्टुरेन्टमा देखिएको उद्योग विभागले जानकारी गराएको हो ।
उद्योग विभागमा पछिल्लो समय दर्ता भएका नयाँ उद्योगहरूको तथ्यांक विवरणअनुसार अहिले सबैभन्दा धेरै लगानी मुलुकको होटल उद्योगमा नै देखिएको छ । चालू आर्थिक वर्षको बितेका पाँच महिना साउनदेखि मंसिरसम्मको अवधिमा २१ वटा होटल दर्ता भएका छन् ।
विभागको तथ्यांकअनुसार सो अवधिमा १५ अर्ब लगानी गर्ने भनिएका यी होटलमा १ हजार ६ सय ४८ बेड हुने लक्ष्यसहितको योजना पेस भएका छन् । सो अवधिमा साना, मध्यम तथा ठूला तारे होटल दर्ता भएका छन् । अरू उद्योग व्यवसायमा जमिरहेका समूह घरानादेखि नयाँ तथा विदेशी लगानीकर्ताले समेत अहिले होटलमा नै लगानी गर्ने इच्छा व्यक्त गरेका छन् ।
मुलुकलाई राम्रो कर बुझाउने पुरानो कम्पनी सूर्य नेपाल प्रालिले पनि अहिले काठमाडौंमा होटल सञ्चालन गर्नका लागि उद्योग विभागमा फाइल दर्ता गरेको छ । ५ अर्ब ९९ करोड लगानी गरेर १ सय ९० बेडको होटल सञ्चालन गर्ने सूर्य नेपालको योजना रहेको छ ।
यसैगरी, चलचित्र मन्दिर तथा मनोरञ्जन क्षेत्रमा जमिरहेका पुराना व्यवसायी उद्धव पौडेलले पनि हाल काठमाडांैको चाबहिलको गोपीकृष्ण हल भएकै ठाउँमा होटलसहितको संरचना निर्माण गर्ने भएका छन् । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स प्रालि उद्योग उनले दर्ता गराएका छन् ।
२ अर्ब ६७ करोड ६३ लाख लगानी हुने यो परियोजनाअन्तर्गत २५० बेडसहितको होटल हुने छ । त्यस्तै, काठमाडौंमै ग्रिन भ्यु प्रालिले १ अर्ब लगानीमा ६० बेडको होटल सञ्चालन गर्ने भन्दै उद्योग दर्ता गराएको छ । मोरङमा ९९ सय बेडको होटल सञ्चालन गर्न नेपाल इन्टरनेसनल हस्पिटालिटीले उद्योग दर्ता गरेको छ ।
पछिल्लो समय काठमाडौंमा दुई ठूला पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । म्यारियट, काठमाडौं र अलफ्ट काठमाडौंमा सञ्चालन भएका नयाँ पाँचतारे होटल हुन् । त्यस्तै, चन्द्रागिरि हिल्स रिसोर्ट पनि पछिल्लो समय सञ्चालनमा आएको ठूलो होटल परियोजना हो । काठमाडौं बाहिर पनि मेची क्राउन प्लाजा, भैरहवामा टाइगर प्यालेस, नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएका छन् ।
सरकारको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म कुल होटलको संख्या १ हजार ३ सय १३ पुगेको छ । सरकारबाट अनुमति लिएर सेवा दिइरहेका यस्ता होटलमा कुल ४५ हजार ८ सय ५० बेड पुगेका छन् । यसमा तारे होटल १ सय ४२ पुगेका छन् भने तारा नलिएका होटलको संख्या ११ सय ७१ वटा रहेको छ । यसमा रिसोर्टको संख्या अलग छ । पर्यटन विभागका अनुसार हालसम्म एकतारे होटलको संख्या ३४ छ । एकतारे होटलमा कुल १ हजार ३ सय ४४ बेड छन् । त्यस्तै, दुईतारे स्तरका होटल ४१ छन् । दुईतारे होटलमा २ हजार ८ सय ८० बेड छन् ।
३४ तीनतारे होटलमा ३ हजार ४ सय १२ बेड छन् भने १९ चारतारे होटलमा २ हजार ४ सय ८७ बेड छन् । १५ पाँच तारे होटलमा एउटा सञ्चालनमा छैन भने एउटा पाँचतारे डिलक्स होटल छ भने तीनवटा हेरिटेज बुटिक होटल छन् । त्यस्तै, नेपालमा ९९ रिसोर्ट छन् भने एउटा डिलक्स र एउटा लक्जरी रिसोर्ट रहेको छ ।
Comment