बाबियाखर्क साकोसको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाबियाखर्क साकोसको अध्यक्षमा ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित



काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सहकारी अभियन्ता ऋषिराज घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका ३१ शान्तिनगरमा अवस्थित संस्थाको शनिवार सम्पन्न २५ औं वार्षिक साधारण सभाले नेफ्स्कूनका पूर्व अध्यक्ष, वर्तमान सल्लाहकारसँगै एशियाली ऋण महासंघका समेत पूर्व अध्यक्ष घिमिरेलाई आगामी ४ वर्षका लागि अध्यक्ष निर्वाचित गरेको हो ।

सभाले घिमिरेको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र गोविन्द प्रसाद घिमिरेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । साकोसको उपाध्यक्षमा तारा प्रसाद घिमिरे, सचिवमा हरि प्रसाद घिमिरे, कोषाध्यक्षमा तीर्थराज घिमिरे तथा सदस्यहरुमा उमेश प्रसाद घिमिरे, कुष्णमुरारी घिमिरे, नारायण प्रसाद घिमिरे, श्रीभा नेपाल र तारादेवी थपलिया निर्विरोध निर्वाचित हुनुभएको हो भने लेखा सुपरिवेक्षण समिति सदस्यमा दिपीका पोखरेल र बुद्धिनाथ भट्टराई चयन भएका हुन् ।


यसैबीच, नवनिर्वाचित अध्यक्ष सहकारी अगुवा घिमिरेले नयाँ सञ्चालक समितिको मुख्य लक्ष्य संस्थालाई एक्सेस ब्रान्ड दिलाउने रहने बताएका छन् । नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) को समन्वयमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरणसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध बाबियाखर्कलाई उक्त ब्रान्ड दिलाउने सबैभन्दा मुख्य लक्ष्य हुने नवनिर्वाचित अध्यक्ष घिमिरेले साकोस आवाजलाई बताए । यस्तै, संस्थागत सुशासन, मानव संशाधनको दक्षता वृद्धि, एकीकरण तथा सेवा केन्द्र विस्तार जस्ता विषयमा ठोस योजनासहित साकोस अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । घिमिरे विगतमा २ कार्यकाल बाबियाखर्क साकोसको अध्यक्ष भैसकेका छन् । सहकारी अभियानबाट हासिल गरेको लामो अनुभव बाबियाखर्कको वृद्धि र विकासमा खन्याउने अध्यक्ष घिमिरेले बताए ।

आज सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवदेन, चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम तथा बजेट, विनियम संशोधन, नीति तथा कार्यविधिहरु, सेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोष र कर्मचारी बोनस कोष वितरणआदि महत्वपूर्ण विषयहरुको प्रस्ताहरु उपर छलफल गरी पारित गरेको छ । सभाले सदस्यहरुलाई १० प्रतिशत सेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ । सदस्यहरुको उल्लेख्य सहभागिता रहेको सभामा विभिन्न सम्मान तथा चिठ्ठाको नतिजा सार्वजनिक एवम पुरस्कार वितरण कार्यक्रम पनि गरिएको थियो ।

२०५३ माघ ३ गते तत्कालीन जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको बाबियाखर्क साकोसको कार्यक्षेत्र काठमाडौं जिल्लाभर रहेको छ । कुल सदस्य संख्या ३६२१ रहेको संस्थाको कुल सम्पति करिब ४० करोड रहेको छ । शान्तिनगरमा आफ्नै भवनबाट सेवा दिइरहेको बाबियाखर्क साकोसमा हाल १० कर्मचारी कार्यरत छन् ।


‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गरेको साकोसको परिकल्पना ‘समुदायमा आधारित दिगो वित्तीय सहकारी संस्था’ रहेको छ भने ‘सहकारी मूल्य मान्यतामा अधारित गुणस्तरीय प्रतिस्पर्धी वित्तीय सेवामार्फत सदस्यहरुको जीवनस्तर उत्थानमा सहयोग गर्ने’ ध्येय संस्थाले बोकेको छ ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार १९:५९