टाइगर प्यालेस रिसोर्टको शेयर खरिद–बिक्रीको करार सम्झौता बदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

टाइगर प्यालेस रिसोर्टको शेयर खरिद–बिक्रीको करार सम्झौता बदर



भैरहवा । टाइगर प्यालेस रिसोर्टको शेयर खरिद–बिक्रीको करार सम्झौता जिल्ला अदालत रूपन्देहीले बदर गरिदिएको छ । अदालतको अपहेलना गरेको भन्दै टाइगर वान प्रालि र सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिलाई ३ र ३ हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेशमा उल्लेख छ ।

लुम्बिनी नलकुप उपभोक्ता संघका अध्यक्ष स्थानेश्वर घिमिरेले गत साउन २८ मा दायर अदालतको अपहेलनासम्बन्धी निवेदनमाथि सुनवाइ गर्दै सोमबार न्यायाधीश लीलाराज अधिकारीको इजलासले यस्तो आदेश दिएको हो । ‘यसअघिको आदेशमा मुद्दाको फैसला नहुन्जेलसम्मका लागि रिसोर्टको सेयर खरिद–बिक्री नगर्नु भनिएकामा दुई पक्षबीच सेयर खरिद–बिक्रीका लागि गरिएको हस्ताक्षरसहितको कागजात अदालतमा पेस भयो,’ अदालतका स्रेस्तेदार शोभाकर खरेलले भने, ‘यसलाई नै मुख्य आधार मानेर विपक्षीमाथि अदालतको अपहेलना सजाय पनि भयो र सेयर खरिद–बिक्रीका लागि गरिएको सम्झौता पनि बदर भयो ।’

निवेदकले अदालतमा पेस गरेको कागजातमा ३ अगस्ट २०२१ मा टाइगर टु प्राइभेट लिमिटेड र भुसाल एन्ड सन्स रियल स्टेट प्रालिबीच प्राइम कमर्सीयल बैंकमार्फत ११ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री गर्ने सम्झौता भएको देखिन्छ ।

३ वर्षअघि घिमिरेले साबिक टिकुलीगढ–९ ‘घ’ र हाल तिलोत्तमा–१३ मा उक्त रिसोर्ट निर्माणको क्रममा कित्ता नं १२०, १४८, १५२ र १९० का नहर ९नलकुप० को सार्वजनिक जग्गा र कित्ता नं ७३ को सरकारी जग्गासमेत कम्पाउन्डभित्र पर्नेगरी होटल, क्यासिनो, रेस्टुरेन्ट, स्विमिङ पुल प्रयोजनका लागि विभिन्न भवन, टहराको संरचना तयार गरी भोगचलन गर्दै आएको भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरिपाऊँ भन्दै दायर रिटमा २०७६ असार २० मा जिल्ला अदालतले विवादित कित्ताको जमिनसहित अन्य जग्गा र कम्पनीको सेयर हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो । जसलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले पनि सदर गरेको थियो ।कान्तिपुर दैनिकबाट

प्रकाशित : १६ मंसिर २०७८, बिहीबार ०८:०५