विद्युतीय सामग्रीको प्रयोग बढाऔँ, पेट्रोलियम सामग्री कम गरौँ : ऊर्जा मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विद्युतीय सामग्रीको प्रयोग बढाऔँ, पेट्रोलियम सामग्री कम गरौँ : ऊर्जा मन्त्री



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छिन । सामूदायिक रेडियो प्रशारक संघ(एको¥याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तराष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधीभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन ।

उनले भनिन , “विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ ।” स्वदेशमै उत्पादन भएको विद्युत खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै भनिन , “ स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन , “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसीत राष्ट्रले गरेको गल्तिका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन, “मनाङ, मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”

विपद्का समयमा रेडियो भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भनिन , “विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौँ । सूचनाको माध्यम रेडियो भएको छ ।” सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री भुसालले जुनसुकै समयमा पनि सहजरुपमा रेडियो सुन्न सक्ने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताइन । उनले भनिन, “सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।” जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उनल‍े भनिन, “समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।” मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई विद्युत् शुल्क निःशुल्क गरेको सुनाइन ।

कार्यक्रममा एको¥याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामूदायिक एफएमहरूले महत्वपूर्ण योगादान गरेको उल्लेख गर्दै समूदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा वरिष्ठ पत्रकार एवम् फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामूदायिक रेडियोले प्रविधिमात्र नभइ विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउँदै अभ्यासमा पनि सामूदायिक रेडियो भने भन्ने प्रमाणित गर्दै जानुपर्नेमा जोड दिए । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताए ।

त्यसैगरी पूर्व अध्यक्षहरू मीनबहादुर शाही र सुवास खतिवडाले विपद्का समयमा रेडियो भूमिका महत्वपूर्ण हुने भएकाले राज्यले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा बिबिसी नेपाली सेवाका प्रमुख जितेन्द्र रावतले स्रोताको आवश्यकताअनुसार विषयवस्तु उत्पादन गर्न सक्दा नै रेडियोको जिम्मेवारी पूरा हुने बताए ।

प्रकाशित : २८ कार्तिक २०७८, आईतवार १६:०९