नेपालगन्ज देखि मुगु सम्म हवाई भाडा १२ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

नेपालगन्ज देखि मुगु सम्म हवाई भाडा १२ हजार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

मुगु।

मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् ।

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४ र ५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान जोखिमयुक्त छ’, उनले भने, ‘जहाजमा महँगो भाडा तिर्छु भन्दा पनि टिकट पाउन मुस्किल हुने गरेको छ ।’

नियम र पद्धतिलाई बेवास्ता गरी निजी एयरलाइन्सले पहुँचवालालाई मात्र टिकट वितरण गर्ने गरेको उनको गुनासो छ । एयरलाइन्सले कार्यालयबाहिरबाटै टिकट वितरण गरिरहेको उनको दाबी छ ।

यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने महँगो हवाई भाडा नउठाउन निजी एयरलाइन्सलाई पत्राचार गरिए पनि बेवास्ता भएको प्रतिक्रिया दिए । ‘एयरलाइन्स कम्पनीलाई पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन पनि भनेका छौं,’ उनले भने, ‘अनुगमन गर्दा बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’ 

नेपाल एयरलाइन्सले नियमित उडान नगर्दा यात्रुहरू मर्कामा परेका छन् । झन्डै १९ महिनापछि गत साता नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भएको छैन । नेपाल एयरलाइन्सको जहाजले मुगु–नेपालगन्ज उडानमा प्रतियात्रु ५ हजार ३ सय ३५ रुपैयाँ भाडा लिने गरेको छ ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार २०:०९ 11 November, 2021 8:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।