पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार



काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । 

यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीका अनुसार लकडाउन खुलेसँगै कम्पनीको आर्थिक क्रियााकलापहरू सञ्चालनमा आउँदा नोक्सानी घट्न सहयोग पुगेको हो ।

समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले सञ्चालन आम्दानी आठ करोड १५ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको सञ्चालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो ।

गत वर्ष दुई लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने एक लाख तीन हजार रुपैयाँ सीमित भएको छ । त्यसैगरी, कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ५२ पैसा ऋणात्मक छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ ७१ दशमलव ८२ पुगेको हो ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार १३:५९