युनिलिभरको प्रतिसेयर १०२० रुपैयाँ नगद लाभांस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिलिभरको प्रतिसेयर १०२० रुपैयाँ नगद लाभांस



काठमाडौं २९ साउन । नेपालमा सबैभन्दा बढी लाभांस प्रदान गर्ने पब्लिक लिमिटेड कम्पनी युनिलिभरले प्रतिकित्ता एक हजार २० रुपैयाँ लाभांस प्रस्ताव गरेको छ। साउन २८ गते शुक्रवार मुम्बईमा बसेको युनिलिभरको बोर्ड बैठकले गतवर्षभन्दा ३० रुपैयाँ बढाएर नगद लाभांस दिने प्रस्ताव गरको हो।

अघिल्लो पटक युनिलिभरले सेयरधनीलाई प्रतिकित्ता ९९० रुपैयाँ बोनस दिएको थियो। कम्पनीले लाभांस प्रस्ताव स्वीकृतीका लागि असोज ५ गते काठमाडौंमा साधरणसभा बोलाएको छ।

साधरणसभाबाट लाभांस स्वीकृत भएपछि सेयरधनीले दशैं अघि नै कम्पनीबाट नगद पाउनेछन्। नौ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको युनिलिभरले प्रस्तावित लाभांस स्वीकृत भए सेयरधनीलाई ९५ करोड रुपैयाँ नगद बाँड्नेछ।

कम्पनीमा ८० प्रतिशत सेयर हिन्दुस्तान युनिलिभर लिमिटेडको छ। कम्पनीको सात लाख ३६ हजार ५६० कित्ता सेयरका लागि हिन्दुस्तान युनिलिभरले ७५ करोड १२ लाख ९१ हजार रुपैयाँ नगद पाउनेछ।

त्यसैगरी युनिलिभरमा रविभक्त श्रेष्ठको कम्पनी शिवविक्रम ल्याण्ड एण्ड इन्डष्ट्रिजको ४६ हजार ३५ कित्ता सेयर छ। यो सेयरका लागि कम्पनीले चार करोड ९१ लाख ५७ हजार रुपैयाँ नगद पाउनेछ।

त्यसैगरी युनिलिभरमा सर्वसाधरणको एक लाख ३८ हजार १०५ कित्ता सेयर छ। यो सेयरवापत सर्वसाधरणले कम्पनीबाट १४ करोड आठ लाख ६७ हजार रुपैयाँ नगद पाउनेछन्।

कम्पनीले साधरणसभा घोषणा गरे पनि चौथो त्रैमासको वित्तीय विवरण भने प्रकासित गरेको छैन्। कम्पनी तेस्रो त्रैमासमा भने २६ करोड ३१ लाख रुपैयाँ घाटमा थियो। कारोवार १३ प्रतिशतले घटेपछि कम्पनी घाटामा थियो। तर कम्पनीको रिजर्भमा भने साढे ८१ करोड रुपैयाँ थियो।

नेपालको पुँजी बजारमा सूचीकृत सबैभन्दा महँगो सेयर युनिलिभरको विहिवार प्रतिकित्ता ३३ हजार ७८० रुपैयाँमा अन्तिम कारोवार भएको थियो।

बिजमान्डबाट

प्रकाशित : २९ श्रावण २०७३, शनिबार १५:२२