धनुषाका १८ स्थानीय तहको ४ अर्ब २७ करोड बेरुजु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

धनुषाका १८ स्थानीय तहको ४ अर्ब २७ करोड बेरुजु



जनकपुरधाम । आर्थिक वर्ष २०७६/७७ मा धनुषाका विभिन्न १८ स्थानीय तहको बेरुजु १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार पाइएको छ ।

महालेखा परीक्षाको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनमा जिल्लाका १८ स्थानीय तहको ७७ मा १८ अर्ब ८ करोड ३२ लाख ९९ हजारको लेखा परीक्षण गर्दा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु रहेको
महालेखाको ५८औं प्रतिवेदनमा उल्लेख छ ।

१ अर्ब ७७ करोड ८२ लाख ६९ हजार बेरुजु थपिएपछि धनुषाका १८ वटै स्थानीय तहको बेरुजु रकम ४ अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ । जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी विभिन्न १८ वटा स्थानीय तह रहेका छन् ।

महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु सबैला नगरपालिका र सबभन्दा कम रकम गणेशमान चारनाथ नगरपालिकाको रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा सबैला नगरपालिकाले १ अर्ब ७ करोड १६ लाख ३ हजारको लेखापरीक्षण गराउँदा २८ करोड २७ लाख २९ हजार बेरुजु देखिएको छ ।

सबैला नगरपालिकाको बेरुजु रकम ५८ करोड ४९ लाख ५४ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ । गणेशमान चारनाथ नगरपालिकाले १ अर्ब १२ करोड ६९ लाख ६२ हजारको लेखापरीक्षण गराउँदा २ करोड ७८ लाख १८ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, कमला नगरपालिकाले ९३ करोड ४ लाख २२ हजार रकमको लेखापरीक्षण गराउँदा १३ करोड ८१ लाख ३८ हजार र पहिलादेखि नै बाँकी रहेका बेरुजुसहित कूल बेरुजु रकम ३५ करोड २६ लाख २ हजार पुगेको छ ।

हंसपुर नगरपालिकाको बेरुजु ३५ करोड ९४ लाख ३९ हजार रुपैयाँ रहेको छ । शहिदनगर नगरपालिकाको २९ करोड ७३ लाख २७ हजार रकम बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । मिथिला नगरपालिकाको १ अर्ब ११ करोड ३१ लाख ९१ हजारको लेखापरीक्षण गर्दा १२ करोड १४ लाख १८ हजार र पछिल्ला वर्षको बाँकी रहेको बेरुजु गरी हालसम्म ४ करोड ४६ लाख १८ हजार रकम बेरुजु रहेको छ ।

बटेश्वर गाउँपालिकाको ७० करोड ९० लाख २७ हजारको लेखापरीक्षण गर्दा ६ करोड ८३ लाख १९ हजार र धनौजी गाउँपालिकाको ५३ करोड ५४ लाख ३० हजारको लेखापरीक्षण गराउँदा ४ करोड ९८ लाख ३ हजार बेरुजु भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी जनकपुधाम उपमहानगरपालिकाले आव २०७६/७७ मा २ अर्ब ७८ करोड ३५ लाख ९८ हजारको लेखापरीक्षण गराउँदा ३५ करोड ५७ लाख ७२ हजार र विगत वर्षहरूको बाँकी गरी बेरुजु रकम ८० करोड ७९ लाख ३५ हजार रहेको महालेखाको ५८औं प्रतिवेदनमा उल्लेख छ ।

नगराइन नगरपालिकाले ८४ करोड ३० लाख ६८ हजारको लेखापरीक्षण गराउँदा ६ करोड २० लाख २३ हजार र विदेह नगरपालिकाले ९७ करोड २० लाख २८ हजारको लेखापरीक्षण गराउँदा ७ करोड ७३ लाख ३६ हजार बेरुजु पाइएको छ । मिथिला विहारी नगरपालिकाको ९५ करोड २८ लाख ४७ हजारको लेखापरीक्षण हुँदा ६ करोड ८० लाख ८७ हजार बेरुजु पाइएको छ ।

लक्ष्मीनिया गाउँपालिकाको ५ करोड ४२ लाख ९० हजार, औरही गाउँपालिकाको ३ करोड ३ लाख ८५ हजार र जनकनन्दिनी गाउँपालिकाको ३ करोड ६६ लाख ३० हजार रकम बेरुजु भएको महालेखाको प्रतिवेदनमा छ ।

त्यसैगरी, क्षिरेश्वरनाथ नगरपालिकाको आव २०७६/७७ मा १ अर्ब १० करोड ८२ लाख ४० हजारको लेखापरीक्षण गर्दा ७ करोड ७० लाख ५२ हजार र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ५६ करोड २९ लाख ९७ हजारको लेखापरीक्षण हुँदा २ करोड ९२ लाख ३ हजार रकम बेरुजु भएको छ ।

धनुषाधाम नगरपालिकाको १ अर्ब २१ करोड ३३ लाख ९ हजारको लेखापरीक्षण गर्दा ५ करोड ५६ लाख ६३ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार २२:१९