अछाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार अछामका १० स्थानीय तहमा पालिका अधिवेशन हुने भएको छ ।
९१ वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकेका कारण १० वटै स्थानीय तहका पालिकामा अधिवेशन हुन लागेको नेपाली कांग्रेस अछामका सचिव भरत कुमालले जानकारी दिए ।
उनका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा गाउँ कार्यसमितिको सभापतिमा निर्विरोध चयन भएका छन् । मंगलसैन नगरपालिकामा झपट रावल र कमलबजार नगरपालिकाकामा पदम भण्डारी निर्विरोध चयन भइसकेको पार्टी सचिव कुमालले जानकारी दिए ।
पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा निर्विरोध सभापति चयन लागि प्रयास भइरहेको छ । यता क्षेत्र नम्बर १ का कुनै पनि पालिकामा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
यता साँफेबगर नगरपालिकाको नगर सभापतिको लागि त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसका स्ववियु सभापति भीमबहादुर कुँवर, लाल बहादुर कुँवर, चेतमान विक्रम शाह, सेतमान कुँवर प्रतिस्पर्धामा छन् ।
यस्तै चौरपाटी गाउँपालिकामा वर्तमान सभापति गणेश शाह र धर्म साउद चुनावी प्रतिस्पर्धामा छन् । मेल्लेख, रामारोशन, वान्नीगढी गाउँपालिकामा नेतृत्व सर्वसम्मत रूपमा चयनको लागि छलफल भइरहेको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ ।






Comment