पोखरा । कास्कीको कालिका–माँझठाना–भगवतीटारहुँदै लमजुङ जोड्ने सडक जिल्लाकै पूरानो हो । राजमार्ग बाहिर ओटासिल गरिएको पहिलो सडक पनि यही हो । तर अहिले यो सडकमा ओटासिलको नामनिसाना नै भेटिदैन ।
पन्चायतकालमै खुलेको यो सडक मात्रै होइन सडकमा पर्ने घुम्लेको पक्की पुल पनि जिर्ण छ । हुन त सरकारले सडक र पुल निर्माणको लागि प्रयास नै नगरेको भने होइन । १० वर्षअघि नै पुल निर्माणको सम्झौता भएको हो । तर, काम सकिएको छैन । सम्झौताअनुसार ठेकेदार कम्पनीले काम नगर्दा पक्की पुलबाट सवारी साधन तार्ने पुर्वी मादी र पश्चिम लमजुङबासीको सपना कल्पना मै सीमित भएको छ । पुल निर्माण ३० पुस ०७१ मा सक्नेगरी ०६९ सालमा सम्झौता भएको थियो । तर एक वर्षमा सक्नु पर्ने पुल निर्माण १० वर्षसम्म पनि म्याद मात्रै थप्ने काम भएको छ ।
बर्खामा मात्रै ठेकेदारले काम शुरु गर्न खोज्छ
हरेक वर्ष बर्खा लागेपछि ठेकेदार कम्पनीले पुल बनाउँन ताउरमाउर गर्छ । निर्माण सामग्री झारेर पुल बनाउन खोजेजस्तो गर्छ । तर, बर्खाको भेलले निर्माण सामग्री बगाउने र बगेको सामानको इन्स्युरेन्सको पैसा लिन दौडधुप गर्छ । ‘काम अझै बाँकी छ । मेन काम त सकियो । फिनिसिङ भएको छैन,’ सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर किरण सुवेदीले भने, ‘थोरै काम सकिदिए गाडी चलाउँन मिल्थ्यो । धेरै दुःख दियो ठेकेदारले ।’ पुल निर्माणका लागि त्यसबेला पाँच करोड नौ लाखमा भ्याट बाहेक ठेक्का लागेको थियो । समयमा काम नसकेका कारण ठेकेदारले १० प्रतिशत हर्जना पनि तिरेको छ । ‘यति काम सक्न पनि बल्लबल्ल तानतुन गर्यौं ।,’ उनले भने, ‘ ठेकेदारलाई योभन्दा ठूलो कारबाही अरु छैन ।’ ठेक्का तोड्न खोजे पनि पुनः टेण्डर झन्झटिलो हुने भएकोले अहिलेकै ठेकेदारबाट काम सक्नुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । ‘ठेक्का तोड्न पनि सजिलो छैन । हर्जना तिराएर काम लगायौं,’ कार्यालय प्रमुख ललितजंग खनालले भने, ‘हामीलाई काम चाहिएको हो । उसैको हातबाट सम्पन्न गर्ने बाहेक अरु विकल्प छैन ।’
पुल नबन्दा ६ गाउँका बासिन्दा मारमा
पुल नबन्दा कास्कीको माँझठाना, भाचोक, मिजुरेडाँडा, सैमराङ साथै लमजुङको पसगाउँ, भोँजेलगायत गाउँका बसिन्दालाई पोखरा आवतजावतमा समस्या हुने गरेको छ । ७३ मिटर लामो पुल निर्माणको ठेक्का लोकप्रिय–शंकरमाली जेभीले जिम्मा लिएको हो । पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी मध्ये लोकप्रिय निर्माण सेवालाई सरकारले कालो सूचीमा राखेको थियो । उसले दोस्रो पक्षलाई कामको जिम्मा दियो । मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ९श्याम० ले ठेकेदारकै कारण स्थानीयले सास्ती भोग्नुपरेको बताए । ‘बल्ल बल्ल खोजेर ल्यायो । अलिअलि काम गर्छ । फेरि हराउँछ । साह्रै सास्ती भयो,’ उनले भने, ‘अहिले पनि ठेकेदार सम्पर्कमा छैन ।’
काम नगरेपछि चार पटकसम्म म्याद थपिएको कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग अन्गर्गत लमजुङदेखि भैंसेसम्मको सडक यही पुलको छेउमा पर्छ । ‘१२ मिटर फराकीलो बाटो बन्दै छ । खोलामा पुल छैन । पुल भए त लमजुङका मान्छे यहि बाटो हिड्छन् नि,’ स्थानीय ओमप्रकाश गुरुङले भने, ‘न पुल बन्छ न कारबाही हुन्छ । हामी त हेर्ने मात्रै भयौं ।’
ठेक्का ओगट्ने मात्रै र काम नगर्ने प्रवृत्तिका कारण धेरै निर्माण कम्पनी अहिले सरकारको निगरानीमा छन् । कास्कीका अरु पुलहरू पनि समयमा बन्न सकेका छैनन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । यद्यपि, थप कारबाही भने भएको छैन । मादी गाउँपालिका अहिले पनि पक्की सडक नभएको पालिका हो । मध्यपहाडी लोकमार्गको १६ किलोमिटर सडक पीच गर्ने प्रक्रिया सुरु भएको छ । सडक चौडा पारेर कटिङ्ग थालेएको पालिका अध्यक्ष गुरुङले बताए । मादी कास्कीको विकटमा रहेको पालिका हो ।
Comment