आनका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आनका सदस्यलाई मुक्तिनाथले बिना धितोमा १५ लाखसम्म ऋण दिने



काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रध्युम्न पोखरेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिनाधितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिवद्ध रहेको बताए ।

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताए । धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए । हस्ताक्षर कार्यक्रममा बैंक र आनका पदाधिकारीहरू सहभागी थिए ।

प्रकाशित : २० भाद्र २०७८, आईतवार १५:०७