नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापारिक सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापारिक सम्झौता



काठमाडाैं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेकाे छ ।

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्सट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन ।

यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौता पश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको बताइएकाे छ ।

साझेदारीको बारेमा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ्ग सुविधा प्रदान गर्न पाउँदा खुसी भएकाे बताए ।

यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफट लगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाटनै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए ।

प्रकाशित : 19 August, 2021 5:19 pm