बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने



काठमाडाैं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार अब बीमा संस्थानमा बीमाशुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने भएको कम्पनीले जनाएको छ ।प्रिमियम डिजिटल भुक्तानीमार्फत तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने वाध्यता पनि हटेको छ ।

संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईयो) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गरेका हुन् । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपियाँ बराबरको बीमाशुल्क कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेका हुन्।

‘कनेक्ट आईपीएससँग सहकार्यका लागि केही यसअघि नै समझदारी भइसकेको छ । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ । ‘ प्रशासक पाठकले भने ‘नेपालको पुरानो बीमा कम्पनी भए पनि संस्थानले प्राविधिक हिसाबले आफूलाई कान्छो कम्पनी भन्नुपर्ने बाध्यता रहेको थियो । आगामी दिनमा बीमाशुल्क बुझाउन लाइन बस्नुपर्ने झन्झटबाट बीमित मुक्त भएका छन् ।’

क्लियरिङ हाउसका सीईओ प्रधानले पोलिसी नम्बर र बीमितको जन्म मिति राखेर कनेक्ट आईपीएसमार्फत बीमाशुल्क बुझाउन सकिने बताए । व्यक्तिको जन्म मिति र पोलिसि नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षा समेत प्रदान गर्ने उनको भनाई छ ।

बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनत्ती गरी एनसीएचएलको नेशनल पेमेन्टस् इन्टरफेस(एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौतापछि कार्य अघि बढाएको हो ।

पहिलो चरणमा जीवन बीमाको प्रिमियम भुक्तानी अनलाइन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहीबार १६:१०