चुनौती स्वीकार गरेर आएको छुः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । रत्नपार्कस्थित कार्यालय पुगेर उनले बुधबार दिउँसो पद बहाली गरेका हुन् ।
उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका थिए । घिसिङ उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसात् गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, ‘यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौं । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।’
आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले आफ्नो कार्ययोजना रहेको उनले सुनाए ।

अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरौँ, काँधमा काँध मिलाएर अगाडि बढौँ, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।’
आमजनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उनले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उनले अवकाश पाएका थिए ।
आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई जिम्मेवारी दिएनन् । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताएका थिए ।

घिसिंङको पालामा नेपाल विद्युत प्राधिकरणमा विभिन्न सुधारका काम भएका थिए । उनकै पालामा चुहावट नियन्त्रण र लोडसेडिङ अन्त भएको थियो । सरकारले प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरेको छ ।
तस्विरः नबिनबाबु गुरुङ






Comment