महामारीमा मोफसलका सहकारीः कर्जामा ब्याज मिनाहा,अक्सीजन बैंक सन्चालन देखि फ्रन्टलाइनरलाई सहयोग सम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

महामारीमा मोफसलका सहकारीः कर्जामा ब्याज मिनाहा,अक्सीजन बैंक सन्चालन देखि फ्रन्टलाइनरलाई सहयोग सम्म



काठमाडाैं । कोभिड–१९ का कारण यतिखेर मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित रहे र ठगीमा केन्द्रित भए भन्ने आरोप खेपि रहेका संस्थाहरु महामारी र अभावमा रहेका जनतालाई थोर बहुत भए पनि सहयोगमा जुटेका छन् ।

कोभिडको दोस्रो लहर भयंकर भएर आएको यो बेलामा सहकारीको माउ निकायहरु राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, कृषि केन्द्रिय सहकारी संघ,राष्ट्रिय सहकारी बैंक , नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लगायतका अन्य केन्द्रिय सहकारी संघहरु र शहरमा अर्बाैको कारोबार गर्दै आएको सहकारीहरु माैन बसि रहेका बेलामा भने मोफसलमा रहेका सहकारी / संघहरु खुलेर सहयोगमा जुट्न थालेका छन् ।

सहकारीको आफ्नै मर्म, उद्देश्य र सिद्धान्तअनुसार सामाजिक उत्तरदायीत्व पूरा गरेका छन् कि छैनन् त ? त्यो बिस्तारै खोजिको पाटो बन्ला तर यहाँ हामीलाई प्राप्त भएका सहकारीका केही कार्यहरुलाई समेट्ने प्रयास गरेका छाैँ । हेरौँ, विपद्मा सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले कसरी काम गर्दै छन्ः

शिखर साकोसः पिसिआर पोजेटिभलाई निशुल्क सेवा र ब्याज छुट

बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारीले पिसिआर पोजेटिभ भएका सदस्यलाई सम्पूर्ण सेवामा पहल गर्ने भएको छ ।

संस्थाले यदी सदस्यलाई कारोना पोजेटिभ देखिइहाले अस्पताल, स्वस्थ्य सामाग्री, पोसिलो खाने कुरा, अक्सिजन, रगत, यातायातलगाएतको सेवामा समन्वय गर्ने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

उनले संस्थाका पदाधिकारी, कर्मचारी तथा सेवाकेन्द्रका कर्मचारी मार्फत सेवा लिन सकिने जनाए । सदस्यहरुमा आर्थिक भार बढन सक्ने हँदा केही राहत स्वरुप योजना ल्याईएको अध्यक्ष राउतले बताए ।

यो विषम परिस्थितिमा निषेधाज्ञाको समय अवधिभर सदस्यहरुलाई हर्जना र जरिवानामा शतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको व्याजमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको संस्थाका अध्यक्ष राउतले बताए ।

यो विषम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहँदै घरघरमै बस्न र अत्यावश्यक भए सम्पर्क नम्वरमा सम्पर्क गरेर सेवा सुविधा लिन समेत अनुरोध उनले जानकारी दिए ।

संस्थाका कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कटाएर एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेको अध्यक्ष राउतले बताए ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाः टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ । सोमबार संस्थाका सन्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरमीहरुलाई सहज अक्सिजन आपुर्तिका लागि किसान अक्सीजन बैंक सन्चालनमा ल्याई उक्त बैक मार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपुर्ति गर्दै आएको सन्चालक सदस्य सरोजकुमार शाहले बताए । सोमबारसम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

सहकारी संस्थाले सन्चालन गरेको अक्सीजन बैंकले यस अघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराई सकेको छ । स्थानीय अस्पतालहरुमा सिलिन्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासंगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी गराए ।

झापा जिल्ला सहकारी सङ्घः सुरक्षाकर्मीलाई ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झापा जिल्ला सहकारी सङ्घले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

संघले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई जिल्ला प्रशासन कार्यालय पुगेर ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र प्रदेश एक बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष घनश्याम अधिकारीको सहभागिता थियो ।

साथै झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, नेपाली सेना चार आलीका प्रमुख सेनानी गौरवजंग थापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेको समेतको उपस्थिति थियो ।

सङ्घले १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट, ६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८ सय लिटर स्यानिटाइजर उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।

जिल्ला सहकारी सङ्घ दोलखाः प्रहरी र पत्रकार महासङ्घलाई स्वास्थ्य सामाग्री वितरण

जिल्ला सहकारी सङ्घ दोलखाले नेपाल प्रहरी र पत्रकार महासङ्घलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सङ्घले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, स्यानिटाइजर, ४ सय पन्जा र पत्रकार महासङ्घलाई २ सय पिस मास्क, ५ सेट पिपिई, स्यानिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सङ्घका अध्यक्ष हेमन्त चौलागाईंले दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल । नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

आवश्यक परे सुरक्षाकर्मी र सञ्चारकर्मीलाई थप स्वास्थ्य सामग्री सहयोग गर्न सहकारी सङ्घ तयार रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

कलश साकोसः दुई महिनाको ब्याज मिनाहा

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारीले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएकोे छ ।

सहकारी संस्थाको बैठकले संक्रमित सदस्यहरुको औषधी उपचारका लागि पहिलो चरणमा दुइ महिनासम्म ब्याज नलिने गरी बढीमा एक लाख रुपैयाँ ‘कोभिड उपचार ऋण’ उपलव्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।

सहकारी संस्थाले कोरोना भाइरस पुष्टी भइ उपचाररत शेयर सदस्यहरुलाई बढीमा ४ हजारसम्मको स्वास्थ्य तथा पौष्टिकयुक्त खाद्य वस्तुहरु प्रदान गर्ने छ ।

संक्रमितहरुको सुविधाको लागि मास्क, ह्यान्ड स्यानीटाइजर, फेस सिल्ड, ह्यान्ड वास, इम्युनो बुस्टर, इम्युनो केयर, अल्मोन्ड, पिस्ता, ओखर, भेज सुप, आयुर्वेदिक तुलसी लगायतका सामानहरु उपलव्ध गराइने संस्थाका अध्यक्ष शर्माको भनाई छ ।

उनका अनुसार कोभिड उपचार ऋण र पौष्टिक आहार सहयोगका लागि संस्थाले कार्यबिधि बनाएको र सोही कार्यविधिको आधारमा बितरण हुने छ । जिल्लामा सहकारी मार्फत थालिएको यो पहिलो काम हो ।

नवजीवन सहकारीः अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा १० लाख आर्थिक सहयोग

अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख आर्थिक सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि सहयोग गर्ने हेतुले संस्थाले सहयोग गरिएको बताए ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले जनाएको छ ।

सोही अभियानका लागि क्लबलाई एक करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरे अनुसार सहकारीले रकम उपलब्ध गराएको हो ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १३:३४