नेफ्स्कूनले सुरु गर्‍यो विद्युतीय भुक्तानी सेवा,यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेफ्स्कूनले सुरु गर्‍यो विद्युतीय भुक्तानी सेवा,यस्ता छन् विशेषता



काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि ( नेफ्स्कून)ले विद्युतीय भुक्तानी सेवा सुरुवात गरेको छ ।

सङ्घले   जिनोब इङक  प्रालि सँगको सहकार्यमा संस्था–संस्था बिच स्वचालित प्रणाली मार्फत कारोबार गर्ने प्लेटफर्मको विकास गरेको अध्यक्ष परितोष पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्लेटफर्म मार्फत संस्थाहरूले सञ्चालन गरिरहेका जुनसुकै सफ्टवेयर (सिबीएस) मार्फत ए पी आई को माध्यबाट पूर्ण स्वचालित कारोबार गर्न सक्नेछन् भने यस प्लेटफर्म मार्फत गरिएको कारोबारको सेटलमेन्ट सङ्घले गर्ने बताइएको छ ।


उक्त सेवा मार्फत सङ्घमा आबद्ध सबै संस्थाहरूको भुक्तानी पुर्जा सङ्घका कुनै पनि सदस्य संस्थामा गई सहटी गर्न सक्नेछन् साथै मोबाइल बैंकिङ्ग प्रविधिको उपयोग गरी संस्था–संस्था र सदस्यहरू बिचमा रकम स्थानान्तरण, संस्थाका सदस्यले सङ्घमा आबद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिन सक्षम हुनेछन् । 

संस्थाका सदस्यहरूले आफूलाई पायक पर्ने सङ्घको सदस्य संस्थामा गई बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाइल बैंकिङ्ग प्रविधि मार्फत समेत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्ने लगायतका सुविधाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएकोले कोरोना महामारी को यस विषम परिस्थितिमा संस्थाहरूलाई आफ्नो सेवा प्रवाहमा सहजता प्राप्त हुने तथा सदस्यहरूले समेत सजिलै भुक्तानी प्राप्त गर्न र भुक्तानी दिन सक्नेछन् ।

विभिन्न संस्थाहरूमा सफल परीक्षण भइसकेकोले यस सेवामा आबद्धताका लागि सङ्घ सबै सदस्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

निकट भविष्यमै एउटा संस्थाका सदस्यहरू साकोसहरुको साझा सञ्जालमा आबद्ध हुनेछन् भने उनीहरूले बचत, ऋण, बिमा, विप्रेषण भुक्तानी व्यवस्थापन र पुँजी निर्माण जस्तो सबै वित्तीय समाधान विद्युतीय (डिजिटल) माध्यमबाट सहज प्राप्त गर्न सक्ने गरी काम भइरहेको बताएको छ ।

सेवामा सहभागी हुन चाहने सदस्य संस्थाले आफूलाई पायक पर्ने सङ्घको जुनसुकै कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । 

प्रकाशित : २० बैशाख २०७८, सोमबार १०:३१