सरकार र जनता हातमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छः उपप्रधानमन्त्री पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सरकार र जनता हातमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छः उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् ।


कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए । ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ ।

त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी आफै जवाफदेही र जबाफदेही भएर अगाडि बढ्न जरुरी छ’– उनले भने ।


सरकारले बैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए । ‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो ।

यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने– ‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ । जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।’


उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए ।


१८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार १८:१७