काठमाडौं । सरकार बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेट आकार घटाएको हो । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधसमीक्षा गर्दै आकार घटाएका हुन्। महत्त्वाकांक्षी बजेट ल्याउने र अपेक्षा अनुसार काम गर्न नसकेका कारण सरकारले बजेटको आकार घटाएको हो ।
अर्थमन्त्री पौडेलले बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेका हुन्। यो विनियोजित बजेटको ९१.१९ प्रतिशत हो।
सरकारले संसदमा प्रस्तुत गर्दा बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ निर्धारण गरेको थियो। यो बजेट खर्च हुँदा सात प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो।
सरकारले वैशाखमा गर्ने भनेको प्रतिनिधिसभा चुनाव, कोभिड खोपसमेतमा बजेट ब्यवस्थापन गरेको जनाएको छ।
संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले राजस्व र आन्तरिक ऋणमार्फत १० खर्ब ७४ अर्ब, विदेशी अनुदानबाट ३५ अर्ब, वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब उठाइने लक्ष्य राखेको छ ।
सरकारले १४ खर्ब ७४ अर्बको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरेर १३ खर्ब ४४ अर्ब कायम गरेको हो ।
निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ
अर्थमन्त्रालयले आगामी बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।
मंगलबार आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरिसकेको जानकारी दिए ।
Comment