काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन ।
नविल बैंकले काठमाडौंको कुलेश्वर स्थित थोक फलफुल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताएका हुन ।
पैसाको माध्यमबाट संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको बताए ।
गभर्नर अधिकारीले आफु पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको पनि बताए ।
नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उनको भनाई छ । कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताए ।
सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताए ।
Comment