काठमाडौ। सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षण विहीबार प्रस्तुत् गरेको छ । सर्वेक्षणअनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्तो बृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो ।
कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक बृद्धिदर नबढेको हो ।
चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको बृद्धि ० दशमलव ६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ ।
चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आयो भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले बृद्धि भएको छ ।
मुलुकको अर्थतन्त्रमा संरचनागत् परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रह्यो भने सेवा क्षेत्रको योगदान क्रमशः बृद्धि उन्मुख छ ।
त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दोक्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने बृद्धि हुँदै आएको छ ।
चालु आवमा कुल राजस्व परिचालन रु चार खर्ब ७५ अर्ब एक करोड रहने अनुमान गरिएकामा बितेका आठ महिनामा रु दुई खर्ब ३१ अर्ब सात करोडमात्र संकलन भएको छ ।
यसैगरी, चालु आवमा वैदेशिक अनुदान रु एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा रु ११ अर्ब ५७ करोडमात्र परिचालन भएको छ । गत आवमा रु १४ अर्ब ३० करोड वैदेशिक अनुदान परिचालन भएको थियो ।
गत आवको तुलनामा चालु आवमा मूल्य बृद्धि अनपेक्षित रुपमा बढेको छ । चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांकको बृद्धिदर १० दशमलव ३ प्रतिशत रह्यो भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांकको बृद्धिदर १० दशमलव २ प्रतिशत रह्यो ।
गत आवको सोही अवधिमा ती समूहको मूल्य सूचकांक क्रमशः ९ दशमलव ५ प्रतिशत र ४ दशमलव ९ प्रतिशत थियो ।
चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर रु १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने सो अवधिमा ती संस्थाबाट रु १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ ।
त्यसैगरी, चालु आवको फागुनसम्ममा कुल बिमा शुल्क रु २५ अर्ब ७४ करोड आर्जन भएको र आवको अन्त्यसम्ममा त्यस्तो शुल्क रु ३८ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।
बितेका आठ महिनामा वस्तु आयात् १३ दशमलव ९ प्रतिशतले घटेर रु चार खर्ब ३५ अर्ब ८० करोड बराबर रहन पुगेको छ । व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेको छ ।
त्यस्तै, विगत आठ महिनामा समग्र शोधनान्तर स्थिति रु एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ ।
त्यस्तै, विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर रु चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ । अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले बृद्धि भएको थियो ।
चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा छ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो ।
गत फागुनसम्ममा मुलुकमा छ हजार ३२८ ओटा उद्योग दर्ता भएका र तिनमा रु १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १५९ ले रोजगारी पाएका छन् ।
त्यसैगरी, सोही अवधिमा ८६ देशबाट तीन हजार ५२० उद्योग दर्ता भई रु एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भयो ।
यसबाट दुई लाख ११ अजार ८४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।
त्यसैगरी, २०७२ फागुनसम्ममा ११ हजार ८९० किमी कालोपत्र, ६ हजार ४१९ खन्डास्मित र नौ हजार ६८१ किमी कच्चीसडक गरी हालसम्म सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ ।
अघिल्लो वर्षको भूकम्पबाट करिब रु ७ खर्ब ६ अर्बको नोक्सानी भएको र त्यसमध्ये रु पाँच खर्ब १७ अर्ब बराबरको सम्पत्ति क्षय भएकाले पुनःनिर्माण र नवनिर्माणका लागि रु ६ खर्ब ६९ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान पनि सर्वेक्षणमा प्रस्तुत् गरिएको छ ।
Comment