नापी कार्यालयमा पैसा नखुवाई सर्वसाधारणको काम नहुने, बिचौलियाको हालिमुहाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नापी कार्यालयमा पैसा नखुवाई सर्वसाधारणको काम नहुने, बिचौलियाको हालिमुहाली



735620781_1464065567झापा । झापा भद्रपुरमा रहेको नापी कार्यालय पैसा नखुवाई सर्वसाधारणको काम नहुने गरेको भेटिएको छ । कार्यालयमा पैसा लिएर मात्रै काम गर्ने विचैलिया रहेको पाइएको छ । कार्यालय व्यवस्थापन कमजोर हुँदा  सम्पूर्ण काम कारबाही अस्तव्यस्त छ भने सर्वसाधारणबाट पैसा लिएर काम गरिदिने बिचौलियाको हालिमुहाली छ ।

भद्रपुर नापी कार्यालयमा मात्र ६ जना बिचौलिया छन् । बिहान कार्यालय खुलेपछि उनीहरुको काम सेवाग्राहीलाई पर्खने र पैसा असुलेर काम गरिदिने हो । बिचौलियालाई कार्यालयका सबै फाँट भित्रै पुगेर नक्सा निकालेर सेवाग्राहीको नक्सा बनाउन लगाउनेसम्मको पहुँच छ । बिचौलियाले सम्पूर्ण अधिकार लिँदा समेत कर्मचारी उनीहरुको प्रतिकार गर्दैनन्। जग्गाको नक्सा सेवाग्राहीले खोज्न लगाउँदा कर्मचारीले भेट्दैनन्। तर, बिचौलियाले नक्सा सहजै भेट्छन्। कर्मचारी सुस्त हुँदा बिचौलिया कर्मचारी जस्ता देखिन्छन् ।

दिनहुँ नापी कार्यलयमा बिचौलियाले कब्जा जमाउँदा कर्मचारी तथा कार्यालयका जिम्मेवार अधिकृत केही बोल्दैनन् । अधिकृत र कर्मचारीको मौनताले  नापी कार्यालयमा आर्थिक लेनदेन भइरहेको आशंका सर्वसाधारणको छ । गत बिहीबार सेवाग्राही बनेर बिहान १० बजे पुग्दा एक जना बिचौलियाले ‘तपाईँको पनि नक्सा निकाल्नु छ? खोइ धनीपुर्जा मलाई दिनुहोस’ भन्दै रोके ।

सँगै रहेका एकजना सेवाग्राहीले पनि पैसा दिए काम छिटो हुने सुझाव दिए। उनले भने, ‘तपाईं बाहिर चुरोट पिएर बस्नुहोस्, नक्सा तपाईँको हात आउँछ । मैले पनि अढाई सय दिएर निकाल्न लाएँ ।’ बिचौलीया मार्फत पैसाको लेनदेन कर्मचारीका आँखा अघि नै हुने गरेको छ। कार्यालयको काम बिचौलियामार्फत गए चाँडो हुने गर्छ ।

झापा बिर्तामोडका पप्पु साहले पनि सोही दिन तीनसय रुपैयाँ तिरेर जग्गाको नक्सा निकाल्न लगाएका रहेछन्। उनले पनि पैसा नखुवाई कुनै काम नहुने बताएको आजको अन्नपूर्णले लेखेको छ ।

साहले भने, ‘काम छिटो गराउनका लागि घुस नखुवाई पार लाग्दैन।पैसा खुवाउने रहर त कसलाई हुन्छ र ।’ निमित्त कार्यालय प्रमुख भीषण चौधरीले कार्यालयमा कति बिचौलिया छन् भन्ने थाहा नभएको प्रतिक्रिया दिए।उनले भने, ‘म सबै ठाउँमा पुग्न सक्दिन । मलाई यो बिषयमा थाह छैन ।’

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार ०५:०५