आकस्मिक र कोभिड १९ बाहेकका स्वास्थ्य सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आकस्मिक र कोभिड १९ बाहेकका स्वास्थ्य सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय



काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीका मागलाई सरकारले बेवास्ता गरेपछि आइतबार देशैभरीका आकस्मिक र कोभिड १९ बाहेकका स्वास्थ्य सेवा बहिस्कार गर्ने नेपाल चिकित्सक संघले निर्णय गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

डा. केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् ।
तर सहमति जुट्न सकेको छैन ।

शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।

सरकारी वार्ता टोली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शनिबार प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि सरकारी वार्ता टोलीले सहमति गर्न नसकिने संकेत गर्दै केसीलाई अनशन स्थगित गर्न विज्ञप्ति निकालेको थियो । केसी पक्षले समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै डा. केसीको जीवन रक्षाका लागि आन्दोलनमा जानुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार २०:४१