किन तोकिएको इन्टरनेट स्पिड दिँदैनन् सेवा प्रदायक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

किन तोकिएको इन्टरनेट स्पिड दिँदैनन् सेवा प्रदायक ?



काठमाडौं । खासगरी फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको बाह्रैमासको गुनासो हुने गर्छ, यसको ‘स्पिड’ । सेवा प्रदायकले बिक्री गर्ने बेला कबुल गरेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु अपवादजस्तै बनेको छ । आखिर किन तोकिएको इन्टरनेट स्पिड दिँदैनन् सेवा प्रदायक ?

सेवा प्रदायकहरू यसमा आफ्ना अनेक बाध्यता सुनाउँछन् । शनिबार आयोजित एक छलफल कार्यक्रममा सेवा प्रदायकका प्रतिनिधिले विदेशबाट आयात हुने ब्यान्डविथ, सर्भर र इन्टरनेट ‘सेयरिङ’ तथा वितरणका लागि प्रयोग हुने उपकरणलाई यस पछाडिको कारण देखाउँछन् । त्यसो त नेपालमा इन्टरनेट प्रयोग गरेर भिडियो हेर्ने प्रचलन व्यापक बनिरहेकाले आयात गरिएको सीमित ब्यान्डविथ नै सबैतिर प्रयोग हुँदा इन्टरनेटको गति कम हुने उनीहरूको तर्क छ ।

ग्राहकको गुनासो जायज भए पनि इन्टरनेट सेवा प्रदायक मात्र यसमा दोषी नहुने सुबिसु इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद बताउनुहुन्छ । चर्को प्रतिस्पर्धाका कारण सेवा प्रदायकले आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, उनले भने, “हामी त उपभोक्ता र सर्भर अथवा एप्लिकेसनबीचको पुल हौँ । कुनै एकमा समस्या आउँदा इन्टरनेटको गति कम हुन्छ तर गाली हामी खान्छौँ । ” सेवा प्रदायकले यसमा सबै पक्षबीचको गल्ती हुने भने पनि सीमित ब्यान्डविथलाई आफ्नो क्षमताभन्दा बढी ग्राहकलाई वितरण गर्न थालेपछि नै इन्टरनेटमा समस्या सुरु हुने गर्छ ।

इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा यो समस्याको कहिल्यै समाधान हुन नसक्ने बताउनुहुन्छ । बरु भविष्यमा थप बल्झिने उहाँको तर्क छ । अहिले टिकटकका कारण नै इन्टरनेट ‘स्लो’ भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरै इन्टरनेट खपत गर्ने अर्को एप्लिकेसन आउँदा भविष्यमा इन्टरनेट केही स्लो हुनसक्छ । नेपालमा पछिल्लो समयमा भएको इन्टरनेटसम्बन्धी समस्या भने भिडियोकै कारण भएको उनको भनाइ छ । कुल इन्टरनेट सामग्रीमध्ये ८० प्रतिशत भिडियोमै खपत भइरहेको र लकडाउनको समयमा त कुल इन्टरनेटको खपत दोब्बर हुँदा पनि समस्या बढिरहेको उहाँले बताउनुभयो । यसको गुनासो पूर्ण रूपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो, उनले भने ।

इन्टरनेटको खपत बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण नहुँदा पनि इन्टरनेटसँग सम्बन्धित समस्या बल्झिरहेको सेवा प्रदायक बताउँछन् । ठूला प्लेटफर्मका सर्भर र एक्सचेन्ज नेपालमा राख्नसके इन्टरनेटको गुणस्तर सुधार्न सकिने उनीहरूको भनाइ छ । प्रतिस्पर्धाका नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको स्वयं बोहरा स्वीकार्छन ।

दूरसञ्चार विज्ञ आनन्दराज खनाल इन्टरनेट अपेक्षित नहुनुका पछाडि दुई कारण देख्नुहुन्छ । नियामकबाट सहजीकरणको अभाव र अर्कोे स्वयं आईएसपी । कोभिड–१९ जस्तो सङ्कटको समयमा विश्वका अन्य धेरै देशले आफ्ना सेवा प्रदायकलाई सहजीकरण गरिदिए पनि नेपालमा केवल एकतर्फी निर्देशन दिने काम मात्र भएको उहाँको आरोप छ । विदेशमा ब्यान्डविथको पैसा भुक्तानी गर्न यता र उता धाउनुपर्ने बाध्यता छ, उनले भने, “सरकारले पनि निर्देशन मात्रै दिने तर गुणस्तर सुधारका लागि नीतिगत र व्यावहारिक काममा ध्यान दिएको देखिँदैैन । ” सेवा प्रदायकले पनि इन्टरनेट जडानका बखत आफैँ उपकरण उपलब्ध गराउने अनि राउटरकै कारण स्पिड कम भएको भनेर तर्किने अवस्थाले पनि ग्राहकको तहमा समस्यामा आएको उनको भनाइ छ ।गोरखापत्र दैनिकबाट

प्रकाशित : २१ भाद्र २०७७, आईतवार ०९:०३