काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । ‘बाँस्कोटाले घूस लिएरखाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ ।
अख्तियारका पदाधिकारीको बैठक बस्न सम्भव नभएर तामेलीको निर्णय भइसकेको छैन । तीन सातापछि अवकाश पाउन लागेका अख्तियार प्रमुख नवीनकुमार घिमिरे हाल बिदामा छन् । आयुक्त गणेशराज जोशीले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् । एक व्यक्तिको बयान लिन नपुगेको भन्ने आधारमा फाइल लामो समयदेखि अल्झिरहेको थियो । अख्तियार स्रोतले भन्यो, ‘बयान दिनुपर्ने एक जना मान्छे विदेशमा छन् भन्ने बहानामा फाइल रोकिएको हो, अनुकूल समयमा गुपचुप तामेलीमा पठाउने तयारी छ ।’
स्रोतका अनुसार अनुसन्धान अधिकृतले तयार पारेको रायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ ९१२० अनुसार निर्णय गर्नुपर्ने उल्लेख छ । जसमा ‘संकलित प्रमाणबाट आरोप प्रमाणित हुन नसक्ने भएमा आयोगले उजुरीलाई कारणसहितको पर्चा खडा गरी तामेलीमा राख्न सक्नेछ’ भन्ने व्यवस्था छ । बाँस्कोटाको अडियो प्रकरणमा पनि उनलाई मुद्दा चलाउने गरी प्रमाण नभेटिएको निष्कर्षमा अख्तियार पुगेको हो । अख्तियारले तोकेको अनुसन्धान अधिकृतले पूर्वमन्त्री बाँस्कोटाले घूस लिएको वा लिने प्रयास गरेको भन्ने आरोप पुष्टि नहुने भनी प्रतिवेदन तयार गरिसकेको सूचना ‘लिक’ भएपछि उनको मनोभाव बदलिएको र उत्साह बढेको अख्तियार स्रोतले जनायो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दैको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए । त्यही प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले उजुरी तामेलीमा राख्ने प्रयास गरेको हो । ‘यही बेला मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ,’ स्रोतले भन्यो, ‘सत्ताको इसारामा त्यसअघि नै उजुरी तामेलीमा राखेर बाँस्कोटालाई फेरि मन्त्री बनाउने प्रयास त हैन भन्ने शंकासमेत भएको छ ।’
अख्तियार स्रोतका अनुसार घूसको मोलमोलाइका दौरान भेटिनसक्ने केही महत्त्वपूर्ण प्रमाणबारे अनुसन्धान भएको छैन । संसद्को सार्वजनिक लेखा समितिले त्यतिबेला सेक्युरिटी प्रिन्टिङसँग सम्बन्धित प्रमाण संकलन गरेको थियो । पूर्वमन्त्री बाँस्कोटाको युरोप भ्रमण, सेक्युरिटी प्रिन्टिङ अनि स्याटेलाइट खरिद योजनाबारे विभिन्न उजुरी थिए । ‘बुझ्नपर्ने प्रमाण नबुझी अनुसन्धान गरेको देखाई चोख्याउने खेल भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अडियो रेकर्डलाई मुख्य आधार मानेको भए त्यसलाई पुष्टि गर्ने परिस्थितिजन्य प्रमाण जति पनि थिए । घूसकै कारोबार गरेको प्रमाण नभेटिए पनि उद्योगमा मुद्दा चल्न सक्थ्यो ।’ स्रोतले भ्रष्टाचारको प्रयास गरेको भनी मुद्दा चलाउने व्यवस्थालाई उद्योग भनी संकेत गरेको हो । फौजदारी न्यायप्रणालीमा कुनै अपराधको प्रयास गरेको तर अपराध भइनसकेको विषयलाई कसुरको उद्योग भन्ने गरिन्छ । त्यो पुष्टि भए मूल कसुरको आधा सजाय हुन्छ ।
अख्तियारले तोकेका अनुसन्धान अधिकृतमध्येका एक जिम्मेवारी सकिएपछि हालै सरुवा भएका छन् । आयोगका पदाधिकारीहरूको मनस्थितिअनुसार बाँस्कोटाबारे निर्णय गरेकाले उनलाई आकर्षक ठाउँमा सरुवा गरिएको चर्चासमेत छ । तर उनले बाँस्कोटाको फाइल नटुंगिएको बताए । ‘म अझै ८र१० दिन यहाँको काम गरेर बरबुझारथपछि मात्रै जान्छु होला,’ ती अनुसन्धान अधिकृतले कान्तिपुरसित भने, ‘तपाईंले जे सोध्नुभयो, त्यो फाइल टुंगिएकै छैन । मैले टुंग्याउन भ्याउँदिनँ होला । नट्ुंगिएको फाइल तामेलीमा जाने कुरै भएन ।’
गत फागुन दोस्रो साता विभिन्न माध्यमबाट आयोगमा उजुरी परेको थियो । सी– ०२६९८७ नम्बरको उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्री बाँस्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ, सेक्युरिटी प्रेस केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध उजुरी परेको हो । उजुरीमा बाँस्कोटाले करिब तीन अर्बको चलखेल गरेको, त्यो विषय प्रधानमन्त्रीलाई थाहा भए पनि कुनै अग्रसरता नलिएको भन्दै छानबिनको माग गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
Comment