पत्याउनु हुन्छ ? एउटा कोरोना पोजेटिभ केस पत्ता लगाउन राज्यले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पत्याउनु हुन्छ ? एउटा कोरोना पोजेटिभ केस पत्ता लगाउन राज्यले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गर्छ



काठमाडौं । सरकारले कोरोना परिक्षणमा लागेको खर्च सार्वजनिक गरेको छ । नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणको आरडीटी र पीसीआर परीक्षणमा मात्रै भएको खर्चबारे जानकारी दिए ।

अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको आरडीटी र पीसीआर परीक्षण गरिएको छ । एकजनाको परीक्षणमा ५ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । यो खर्चमा पीपीईलगायतको अन्य खर्च समावेश छैन ।

प्रवक्ता प्रा.डा. गौतमका अनुसार सबै परीक्षणमा अहिलेसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।

नेपालमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसो गर्दा एउटा पोजेटिभ केस पत्ता लगाउन राज्यले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको छ ।

संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आए ३० दिनको आईसीयू खर्च ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए । ‘उपचार खर्च धेरै खर्चिलो छ । त्यसैले जरुरी काम नपरी बाहिर ननिस्कनुहोला ।

निस्कनै परे पनि दुरी कायम गर्नुहोला र मास्क लगाउनुहोला र साबुन पानीले मिचिमिचि हात धुनुभयो वा स्यानिटाइजर प्रयोग गर्नुभयो भने,’ उनले भने , ‘एउटा केस पत्ता लगाउने राज्यले गर्दै आएको १ लाख ४ हजार रुपैयाँ बच्छ ।’ हाल देशका जम्मा ४ वटा जिल्ला भोजपुर, मुस्ताङ, म्याग्दि र हुम्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमित रहेको समेत उनले बताए ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार २२:०८