आयल निगमका एक तिहाइ कर्मचारी ब्याकअपमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

आयल निगमका एक तिहाइ कर्मचारी ब्याकअपमा



काठमाडौँ । कर्मचारीमा कोरोना विषाणुको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ । आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। सुरक्षाका लागि हरेक कार्यालयमा केन्द्रले अनुगमन बढाएको पनि जानकारी उनले दिए ।

तीन दिनअघि भैरहवा डिपोका ११ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि निगमले देशभरका कार्यालयमा सतर्कता बढाएको हो । निगमले विज्ञप्ति जारी गरी भैरहवा डिपो पाँच दिनका लागि बन्द गरी पाँच दिनपछि ट्याङ्कर चालक र सहचालकको पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको छ । कोरोनाको सङ्क्रमण देखिएकालाई आइसोलेसनको व्यवस्था गरेको छ ।
भैरहवाको डिपो बन्द अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट ढुवानी गराई भैरहवा डिपोमा स्टक ट्रान्सफर गर्ने र त्यहाँ रहेका मौजुदा कर्मचारीबाट बिक्री वितरणको व्यवस्था मिलाएको छ । पेट्रोल पम्प र हवाई इन्धनसम्बन्धी निकायसँग समन्वय गरी सात दिन बन्द गर्न भैरहवा डिपोलाई निर्देशन गरेको छ ।

कोरोना भाइरसको महामारीमा सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ प्राप्त होस् भन्ने हेतुले सरकारले तोकेको मापदण्ड अपनाई पूर्वतयारी साथ काम गरिएको उपाध्यायको भनाइ छ । कर्मचारीलाई आलोपालो कार्यालयमा खटाइएको र उनीहरूको एक लाख रुपियाँको कोरोना बीमा गरिएको उपाध्यायले जानकारी लिनुभयो । उहाँका अनुसार केन्द्रमा १४७ जनाको पीसीआर जाँच गरिएको छ । प्रादेशिक कार्यालयअन्तर्गत पोखरा, धनगढी, नेपालगञ्ज, अमलेखगञ्जमा पनि पीसीआर जाँच गरिएको छ ।

उनका अनुसार निगमका डिपो तथा हरेक कार्यालयमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । कर्मचारी आलोपालो गरी कार्यालय आउने गरेका छन् भने कार्यालयमा सामाजिक दूरी कायम गरिएको छ । मान्छेको आवातजावत कम गरिएको छ । अति आवश्यक काममा मात्रै सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिइएको उपाध्यायको भनाइ छ ।

भारतीय सीमामा रहेका भन्सार डिपोबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा पनि सावधानी अपनाइएको निगमले जनाएको छ । अमलेखगञ्जबाट काठमाडौँको थानकोटमा आउने ट्याङ्करलाई डिपो प्रवेश गर्नुपूर्व ज्वरो नाप्ने र हात धुन लगाउने गरिन्छ । मास्क नलगाई डिपोमा प्रवेश दिइँदैन, निर्मलीकरणका लागि निर्मलीकरण द्वारको व्यवस्था गरिएको छ, पहिलाजस्तो ट्याङ्करलाई डिपोमा धेरै समय राख्दैनौँ, देशभरका डिपोमा सोहीअनुसार सुरक्षा अपनाइएको उनको भनाइ छ ।

निगमले थानकोट, भैरहवा, अमलेखगञ्ज, नेपालगञ्जलगायतका डिपोमा स्प्रे टनेलको पनि व्यवस्था गरेको छ । तेल भर्न जाने ट्याङ्करलाई पूरा चेकजाँच गरी प्रवेश दिइएको छ । डिपोभित्र हिँडडुल गर्न कडाइ गरिएको छ ।


उपाध्यायले सरकारले तोकेको मापदण्ड पालना गरेर काम गरिरहेको र हालसम्म ढुवानी र बिक्री वितरणमा कुनै असहज परिस्थिति नआएको जनाउनुभयो । गोरखापत्रअनलाइनबाट

प्रकाशित : २ भाद्र २०७७, मंगलवार २१:३५