काठमाडाै । दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना फैलिन नदिनकोलागि दुई साता लकडाउन गर्न सुझाव दिएका हुन् ।
विज्ञहरुले दिएको उक्त सुझाव प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ । कोरोना संक्रमित दर बढ्दै गएपछि आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेता सहित विज्ञहरुसंग भावि रणनीतिका बारेमा छलफल गरेका हुन् ।
यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।
उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।
उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागित रहेको थियो ।
Comment