भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो, तस्करी हुने डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो, तस्करी हुने डर



काठमाडौं । लकडाउन खुकुलो हुँदै जाँदा भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासीको खतरा बढेको छ ।

किनकी हालै नेपालमा तेलको मूल्यबृद्धि भएपनि नेपाल–भारत सीमामा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । लकडाउन अघिसम्म सीमाको मूल्य अन्तर २० रूपैयाँभन्दा कम थियो ।

सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ ।

सरकारले सीमावर्ती मूल्य अन्तर कम गर्न पटकपटक इन्धनको मूल्यमा कर तथा शूल्क थप गर्दै आएको बताएको छ ।

सीमा मूल्यअन्तर कम गर्न भन्दै सरकारले दुईपल्ट कर बढाएको छ । सरकारले मन्त्रिपरिषद् बैठक तथा बजेटमार्फत् इन्धनमा कर बढाएको थियो ।

सीमावर्ती क्षेत्रमा तेलको मूल्यमा ब्यापक अन्तर देखिन्छ । रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्‍जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाइन्छ ।

पेट्रोल र डिजलको मूल्यअन्तर झापासँग सीमा जोडिएको सिलिगुढीमा क्रमशः ३६ र ३७ रुपैयाँ छ । विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ, जलेश्वरको तुलनामा सीमावर्ती बजारमा ४० र ४१ रुपैयाँ महँगो छ ।

भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ र धनगढीभन्दा पलियामा ३६ र ३३ रुपैयाँ बढी पर्छ ।

भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम बढेको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय वर्तमान सीमामा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताउँछन् ।

मेसम्म पनि सीमाको मूल्यअन्तर ३० रूपैयाँभन्दा उकालो लागेको थिएन । अहिले लकडाउन खुल्दै गएको र मूल्य अन्तर बढ्दै गएका कारण सीमामा इन्धन तस्करी हुने डर बढेको उनले सुनाए ।

यसरी मूल्य अन्तर बढ्दा नेपाली पम्पमा भीड बढ्ने, मूल्य कम भए नेपालीले नपाउने सम्भावना बढेर जानसक्ने उनको जिकिर छ ।

भारतभन्दा सस्तो हुँदा चोरी निकासी हुने गरेको छ भने भारतीय सवारीसाधन नेपाल आएर इन्धन भरेर जाने गर्छन् ।

भारतभन्दा सस्तो मूल्य पर्ने भएकोले चोरी निकासी हुने र त्यसलाई नियन्त्रण गर्न बल नै परिचालन गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो भने गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत् हवाइ इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थमा लाग्ने भन्सार दर १० रुपैयाँले बढाएका थिए ।

इन्धनमा संसारमै सर्वाधिक कर भने भारतले लगाउने गरेको छ । भारतले पेट्रोल र डिजलमा प्रतिलिटर ८० नेपाली रुपैयाँसम्म कर लगाउने गरेको छ । नेपालमा पनि ५३ रुपैयाँ कर छ ।

तेल धेरै बिक्री भए व्यवसायी र आयल निगमलाई फाइदा हुने र सरकारलाई पनि राजस्व संकलनमा सहजता हुने भए पनि भारतीय सवारी नेपाल आएर इन्धन भरिदिँदा धेरै बेफाइदा हुने निगमको भनाइ छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार २२:५०