संकटमा परेका उद्योग व्यवसायलाई अध्ययन गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

संकटमा परेका उद्योग व्यवसायलाई अध्ययन गर्न समिति गठन




काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण संकटमा परेका उद्योग व्यवसायलाई राहत दिनेबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी र बन्द उद्योग सञ्चालनका बारेमा समेत अध्ययन गर्न निजी क्षेत्रको समेत सहभागितामा समिति गठन भएको हो ।

उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगडको अग्रसरतामा मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको हो ।

समितिमा अर्थ, उद्योग, कृषि, श्रम मन्त्रालय तथा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघका प्रतिनिधि रहने छन् । समितिले बन्द रहेका उद्योग सञ्चालनका बारेमा तीन चरणको योजना बनाउने छ ।

समितिले विदेशबाट फर्केका युवाहरुलाई रोजगारी तथा उद्यममा सहभागी गराउन विशेष योजना तयार गरी मन्त्रालयलाई पेश गर्नेछ ।

त्यसैगरी उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिभरको पारिश्रमिक भुक्तानीका बारेमा पनि निर्णय गर्ने बताइएको छ ।

समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गर्ने बताइएको छ ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार १३:३५