काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम स्थानीय तहलाई वितरण गर्न उनीहरुको आवाश्यकता निर्धारण गरी प्राथमिकीकरण गरिरहेको छ ।
कोषमा हालसम्म दुई अर्ब आठ करोड रुपैयाँ बढी रकम जम्मा भएको छ । राजनीतिक दलहरुबीच पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट यसै कोषमा जम्मा गर्ने सैद्धान्तिक सहमति भएको छ । योसमेत जोड्दा नौ अर्ब बढी रकम कोषमा थपिने छ ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको निर्देशिकाअनुसार कोषमा जम्मा भएको रकम कोरोना संक्रमित व्यक्तिको उद्धार, व्यवस्थापन, ‘आइसोलेसन’कक्ष तथा ‘क्वारेन्टाइन’ निर्माणका लागि प्रयोग हुने छ ।
हालसम्म कोषमा रकम जम्मामात्रै भएको छ । खर्च भने शून्य छ । यसका लागि अर्थ मन्त्रालयले स्थानीय तहमा माग संकलन सुरु गरेको र उनीहरुको आवश्यकताबमोजिम रकम दिने तयारी गरिरहेको कोषका सदस्य तथा महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए ।
स्थानीय तहहरुमा अहिले नै रकमको अभाव नभएको कारण वितरण नगरिएको सरकारको भनाइ छ ।
Comment