काठमाडौं । विश्वव्यापी कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने देखिएको छ ।
नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको ‘लकडाउन’का कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन् ।
थुप्रै मुलुकले श्रमिक कटौतीको नीतिसमेत लिइरहेका छन् । यसबाट नेपालको रेमिट्यान्स आय दुई अंकको दरमै घट्ने देखिएको सरोकारवालाले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘भिडियो कन्फरेन्स’मा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् ।
कोरोना कारण धेरै मुलुकहरले श्रमिक कटौती गरेका छन् । फलस्वरुप, वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कामदाहरु पनि श्रमिक कटौतीमा परेका छन् ।
जसका कारण यो वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।
गत आर्थिक वर्षमा नेपालमा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवमा केन्द्रीय बैंकले रेमिट्यान्स थप ५ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । तर, यो वर्ष आठ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रीय बैंकको अनुमान छ ।
गत वर्ष १६.५ प्रतिशतले रेमिट्यान्स आप्रवाह वृद्धि भएको थियो । यो वर्ष सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान गरिएकामा कोरोना महामारीले श्रमबजारलाई प्रभावित पारेका कारण रेमिट्यान्स आय घट्ने देखिएको भट्टले उल्लेख गरे ।
केन्द्रीय बैंकका प्रवक्ता भट्टले बहुपक्षीय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । यतिबेला विश्व बैंक, एसियाली विकास बैंकजस्ता संस्थाबाट सहयोग लिन सकिने उनको भनाइ छ ।
Comment