दृढ संकल्पको आवश्यकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दृढ संकल्पको आवश्यकता



मदनकुमार दाहाल  ।madan kumar

अहिले नेपालमा असक्षमता, अकर्मण्यता, असमञ्जसताले गर्दा सरकार, राजनैतिक दलहरू, निजी क्षेत्र, दातृ-राष्ट्रहरू र जनता समेत किंकर्तव्यविमुढ भएको अवस्था छ र धेरै कुरा अलमलमा परेको छ। विगत ८ वर्ष देखि नयां संविधान निर्माणको विषय राजनैतिक दलहरूको आपसी स्वार्थ र खेल भित्र नराम्ररी अल्झेको छ। तसर्थ प्रजातन्त्र-लोकतन्त्र-गणतन्त्रको संदर्भ धरापमा परेको छ। विनाशकारी भूकम्पले नेपालको अर्थतन्त्र उठनै नसक्ने गरि ध्वस्त पारेकोले राष्ट्रको अस्तित्व माथिनै संकट आई परेको छ भन्नु अत्युक्ति हुंदैन।

यस्तो विपदको घडीवाट निकास पाउन धैर्यता, राष्ट्रिय एकताको सुदृढिकरण, राजनैतिक सुझ-वुझ र दूरदर्शीता तथा नेपाललाई आर्थिक रूपले सम्वृद्धिशाली राष्ट्रको रूपमा स्थापित गर्न एउटा वलियो अठोट र कटिवद्धता सहित दृढ संकल्पको आवश्यकता छ।

तसर्थ प्राथमिकता अनुसार: (१) उद्धार, राहत, पुनर्निर्माण र पुनर्वासको कार्यक्रमलाई तोकिएको समय सारिणी भित्र प्रभावकारी ढंगले सम्पन्न गरिनु पर्दछ; (२) यथा शिघ्र नयां संविधान जारी गर्दै त्यस अन्तर्गत स्थानीय निकायको निर्वाचन र गणतन्त्रलाई संस्थागत गर्ने कार्य सम्पन्न गरिनु पर्दछ; र (३) अहिलेको गरीवी, भ्रष्टाचार र कुशासनको जालोले वेरिएको अविकासको कुचक्रलाई तोडेर अर्थतन्त्रलाई दुइ-वर्ष भित्रमा सामान्य परिस्थितिमा ल्याउने र नेपाललाई आगामी दश वर्ष भित्रमा एउटा सम्वृद्धिशाली राष्ट्रको रूपमा स्थापित गर्न ‘मार्ग-चित्र’ तयार गरि कार्यान्वयन गर्नु पर्दछ।

यसको मुख्य सर्त भनेको दूरदर्शीतापूर्ण नेतृत्व सहितको सरकार, कुनै पनि क्षेत्रको भष्टाचारीलाई हदै सम्मको सजाय र सुशासनको प्रत्याभूति हो। हामी सवैलाई चेतना भया ! मदनकुमार दाहालको फेसबुकबाट

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार ०२:५६