कृषकका समस्यामा स्थानीय निकायले चासो देखाएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कृषकका समस्यामा स्थानीय निकायले चासो देखाएन



काठमाडौं । देशका विभिन्न स्थानमा व्यवसायीक रुपमा कृषि तथा पशुपालन गरिरहेका व्यवसायीक कृषकका समस्याप्रति स्थानीय निकायले वेवास्ता गरेको सम्वन्धित सरोकारवालाले बताएका छन् । व्यवसायीक रुपमा कृषि तथा पशुपालन गरिरहेका कृषकलाई थुप्रैखाले चुनौती रहेको भएपनि जननिर्वाचित प्रतिनिधिले भने व्यवहारिक रुपमा सहयोग नगरेको उनीहरुको तर्क छ ।

राजधानीमा व्यवसायीक रुपमा पशुपालन गरिरहेका कृषकहरुको भेलामा सम्वन्धित सरोकारवाला पक्ष र कृषकले यस्तो धारणा व्यक्त गरेका हुन् । कागेश्वरी मनोहरा ७ स्थित चम्पादेवी कृषक समूह र मध्यपुर ७ स्थित नव निलबराही मिश्रित कृषक समूहले आयोजना गरेको व्यवसायीक पशुपालक कृषकहरुको समस्या तथा चुनौती विषयक अन्र्तक्रियामा उनीहरुले यस्तो धाराणा राखेका हुन् । छलफलमा कृषकहरुले जननिर्वाचित प्रतिनिधि आएपछि कृषि तथा पशुपालन क्षेत्रमा स्थानीय निकायवाटै पर्याप्त सहयोगको अपेक्षा गरिएको भएपनि सो अनुरुप सहयोग नपाएको गुनासो राखेका छन् ।

देशको नयाँ संसचना अनुसार वनेका संघीय, प्रदेश र स्थानीय तहका सरकारवाट कृषि क्षेत्रको विकासमा सहयोग अपेक्षाकृत नभएको कृषकहरुको गुनासो छ । छलफलमा सहभागि अधिकाशं पशुपालक कृषकले दानापानीको भाउ वढ्दै गएपनि सो अनुरुप दुध तथा दुग्धजन्य वस्तुको मुल्य वृद्धि नहुँदा समस्या भएको बताएका थिए । यस्तै, कृषि तथा पशुविमाको समस्या, पशु आयातको समस्या, गुणस्तरिय दाना तथा खाद्यन्यको समस्या रहेको उनीहरुको भनाई थियो । कृषकले यी थुप्रै समस्या झेलीरहँदा पनि स्थानीय सरकारका प्रतिनिधिले भने मुख दर्शक भएर बसेको र कृषकका समस्याप्रति गम्भिर नदेखिएको उनीहरुको भनाई छ ।
छलफलमा काठमाडौं २ का प्रदेश साँसद मणिराम फुँयाल, पशु सेवा विभागमा निमित्त प्रमुख टिकादेश भट्ट, विभागमा प्रवक्ता चन्द्र ढकाल, कृषि ज्ञान केन्द्रका निर्मल गदाल, नयाँ कृषि अभियान कृषि सहकारी संस्थाका अध्यक्ष मीन वहादुर गैरे, सहकारीका प्रवन्ध निर्देशक यादव प्रसाद पोखरेल लगायतले व्यवसायीक कृषि तथा पशुपालन र यसमा समस्या र चुनौतीका विषयमा विचार व्यक्त गरेका थिए ।

यस्तै, छलफलमा नव निलबराही मिश्रित कृषि समूहका अध्यक्ष तारावहादुर भण्डारी, चम्पादेवी कृषक समूहका कोषाध्यक्ष हेमराज जोशी, कृषक समूहका प्रदिप श्रेष्ठ लगायतले कृषकले भोगिरहेको समस्या व्यक्त गरेका छन् । सो अवसरमा सरकारी निकायका सरोकारवाला पक्षले कृषकको समस्या समाधानका लागि सहयोगको आश्वासन व्यक्त गरेका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १२:५०