सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ । यस अवधी सम्म आइपुग्दा बैकको कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । त्यस्तै बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि बैंकले जनाएको छ । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो ।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्याइएको छ । बैंकले समीक्षा अवधिमा रु ३१करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित : २८ माघ २०७६, मंगलवार ०८:०३