काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशन (आइपीओ)लाई थप सहज बनाउन एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट (एएसबिए) प्रणाली लागु गर्ने भएको छ । आइपीओको शेयर बाँडफाँड हुन ७० दिन भन्दा बढी लाग्ने गरेको, शेयर नपरेको फिर्ता भुक्तानी प्रक्रिया समे झन्झटिलो रहेको, शेयरको सूचीकरण गर्न समेत लामो समय लाग्ने हुने शेयर बजारबाट शिघ्र प्रतिफल प्राप्त गर्न नसकेको जनाउँदैै बोर्डले नयाँ आर्थिक वर्षबाट यो प्रणाली लागु गर्न लागेको हो।
एएसबिए प्रणालीअन्तर्गत लगानीकर्ताले बैंक खातामा रहेको र धितोपत्र बोर्डले यो प्रणाली उपलब्ध गराउन मान्यता दिएको बैंकमा आफूले शेयरमा लगानी गर्न चाहेको रकम होल्ड गर्न निवेदन दिनुपर्छ । बैंकले लगानी गरेको रकम होल्ड गरी त्यसको प्रमाण उपलब्ध गराउने छ। लगानीकर्ताले यही प्रमाणसहित शेयर खरीदका लागि आवेदन दिनुपर्ने बोर्डले जनाएको छ । नयाँ प्रणालीअनुसार शेयर बाँडफाँटपछि शेयर लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा परेको शेयर बराबरको रकम मात्र हस्तान्तरण हुनेछ।
बोर्डले एएसबिए प्रणाली लागू गर्ने कार्यविधि निर्माण गर्न बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ, नेपाल मर्चेन्ट बैंकर्स संघलगायत सरोकारवालाहरुको एक समिति बनाउने समेत निर्णय गरेको छ ।
त्यसैगरी आगामी साउन १ गतेबाट आइपीओ शेयर भर्दा उपत्यकाका लगानीकर्ताले अनिवार्य डिम्याट खाता भर्नुपर्ने र त्यसको ६ महिनापछि नेपालभरिका लगानीकर्ताले डिम्याट खाता भर्नुपर्ने जनाएको छ ।
2 April, 2016 3:34 am
Comment