देउवाद्वारा विधानविपरीत ४१ विभाग प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

देउवाद्वारा विधानविपरीत ४१ विभाग प्रस्ताव



काठमाडाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतबाटै पार्टीका रिक्त विभाग गठनको तयारी गरेका छन् । उनले विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा विभाग गठन गर्ने तयारी गरेका हुन् ।

पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेतृत्वविहीन तथा म्याद सकिएका भ्रातृ संस्थासहित उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठकलाई संस्थापनइतर समूहले बहिष्कार गरेपछि देउवाले बहुमतबाटै विभाग बढाउने गरी बैठकमा ४१ वटा विभाग प्रस्ताव गरेका हुन् ।

बिहीबारको बैठकमा संस्थापनइतर पक्ष मानिने रामचन्द्र पौडेल समूहका नेता भने उपस्थित भएनन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूसमेत बैठकमा सहभागी भएनन् ।

इतर पक्षले बैठक बहिष्कार गरेपछि देउवाले आफ्ना केन्द्रीय सदस्य मात्रै राखेर विधानविपरीत विभाग बढाउने गरी बैठकमा प्रस्ताव गरेका हुन् । कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले संशोधनसहित पारित गरेको विधानमा भने केन्द्रमा २८ विभाग रहने उल्लेख छ ।

सभापति देउवाले महाधिवेशनको मुद्दालाई छलेर विभाग गठन गर्ने तयारी गरेपछि आफूहरूले केन्द्रीय समिति बैठक बहिष्कार गरेको इतर समूहका नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ४ बजेपछि विवादकै बीच सुरु भएको थियो ।

सभापति देउवाले पार्टीको विधानबमोजिम महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र रिक्त रहेका २८ वटा विभाग गठन गर्नुपर्नेमा संख्या बढाएर ४१ पु¥याउने तयारी गरेपछि इतर समूह असन्तुष्ट रहँदै आएको थियो । इतर समूहले सभापतिले पुरानै विधानअनुसार ४१ वटा विभाग गठन गर्ने तयारी गरेको आरोप लगाउँदै आइरहेको थियो ।

जोशीले केन्द्रीय समिति बस्नुअघि शीर्ष नेताहरूबीचको छलफलमा इतर समूहले महाधिवेशनको एजेन्डा राख्न र कार्यतालिका ल्याउन आग्रह गरेको तर संस्थापन पक्षले नमानेको जानकारी दिए ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार ०७:५४