कुलमानले गरे अर्को चमत्कारिक घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कुलमानले गरे अर्को चमत्कारिक घोषणा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताए । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिए ।

प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीले विद्युत्का तारलाई भूमिगत गर्ने कार्य पुस महिनाको पहिलो हप्तादेखि नै सुरु गरिने जानकारी दिए । “तार भूमिगत गर्नका लागि आवश्यक तयारी पूरा भइसकेको छ, डिसेम्बर १५ देखि काम नै सुरु हुनेछ,” उनले भने, “२०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न हुनेछ ।”

उनका अनुसार विद्युत्को तार भूमिगत गर्नका लागि आवश्यक अधिकांश उपकरण र सामग्री काठमाडौँ आइपुगेका छन्, बाँकी उपकरण र सामग्री एक हप्ताभित्र काठमाडौँ आइपुग्नेछन् ।

उनले भने, “पहिलो चरणमा नमुनाका रूपमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् । यो योजनाको सफलता र मूल्याङ्कनपछि प्राधिकरणबाट अन्य क्षेत्रका विद्युत्का तारहरूलाई भूमिगत गरिने छ ।” रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा जोडिएका प्राधिकरणका ९० हजार ग्राहक लाइन रहेका छन् । उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

सडक खन्नु पर्दैन
तारहरूलाई भूमिगत गर्नका लागि मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबरसमेत बिछ्याउने जानकारी दिए । अप्टिकल फाइबर बिछ्याइसकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ०७:३९