मर्जर पछि ग्लोबल आईएमई सबैभन्दा ठूलो बैंक बन्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जर पछि ग्लोबल आईएमई सबैभन्दा ठूलो बैंक बन्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेकोे बैठकले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकको मर्जर प्रक्रिया पूरा भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला पनि ग्लोबल आईएमई र जनतालाई एकीकृत कारोबार गर्न बाटो खुलेको बताए । दुवै बैंक गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरू हुने ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । मर्जपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ । मर्जपछि बैंकको चुक्तापूँजी रू. १९ अर्ब पुग्नेछ । त्यस्तै, बैंकको शाखा देशको ७७ ओटै जिल्लामा पुग्ने र ग्राहक संख्या २० लाख पुग्ने बताइएको छ ।

यी दुवै बैंकले गत मंसिर ३ गते गत आर्थिक वर्षको साधारणसभा गरी बोनस शेयर र नगद लाभांश पारित गरिसकेका छन् । गत आवको नाफाबाट ग्लोबलले १२ दशमलव ७५ प्रतिशत बोनस र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, जनताले जनताले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिएको छ ।

राष्ट्र बैंकले बिग मर्जरको चर्चा गरिरहँदा ग्लोबल आईएमई र जनता मर्जरमा जाने औपचारिक सहमति गर्ने पहिलो बैंक बनेका थिए । यी दुई बैंकबीच गत असार २० गते मर्जरमा जाने सहमति भएको थियो । सहमति अनुसार मर्जपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक हुनेछ भने अध्यक्षमा ग्लोबल आइएमईका हाल अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओमा जनताका सीईओ परशुराम कुँवर क्षेत्री हुनेछन् । ग्लोबल आईएमईका हालका कार्यवाहक सीईओ महेश शर्मा ढकाल भने वरिष्ठ डीसीईओ हुनेछन् । त्यस्तै, सञ्चालकमा समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

केन्द्रीय बैंकले अन्तिम स्वीकृति दिए पनि पत्र भने हातमा नपरेको ग्लोवल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकाल बताउँछन् । यद्यपि, मर्जर समितिले भने एक साताभित्र एकीकृत कारोबार शुरू गर्ने तयारी गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकम प्रकाशित छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ०७:३५