देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर छाैँ ः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर छाैँ ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको बताएका छन् ।

माथिल्लो त्रिशुली– थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस आयोजनाको संचालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग संचालनमा लगाउन मदत पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले रसुवामा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशुली–थ्री ‘ए’ आयोजनाको प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै उद्घाटन गरेका हुन् ।

‘गरिवी निवारण गर्न आयात कटौती र निर्यात बृद्धि गर्नु पर्छ, यस आयोजना संचालनले विद्युत आयात कम गर्दै आफैंले उत्पादन गरेको विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग संचालनमा लगाउन मदत गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं ।’

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यस्ता आयोजनाहरुको निर्माणलाई तीब्रता दिएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

‘सामाजिक न्याय, सुशासन र जनतामा सहज सेवा उपलब्ध गराउन हामी पूर्वाधार निर्माणलाई तीब्रता दिइरहेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘यसका माध्यमबाट हामी देशलाई मध्यम आय भएको देशका रुपमा पुर्याउने छौं र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने छौं ।’

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजनाहरु निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको बताए ।

ओलीले वातावरणमैत्री र दुर्घटना जोखिम कम हुने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको पनि बताए । उनले त्रिशुली थ्री ‘ए’ आयोजना निर्माणमा संलग्न जनशक्तिलाई धन्यवाद ज्ञापन गर्दै आयोजनाको सफलताप्रति देशवासीलाई वधाई दिए ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार १६:०६