गज्जबको विरोध, काम नगर्ने ठेकेदारको तस्बिर पोल र सवारी साधनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गज्जबको विरोध, काम नगर्ने ठेकेदारको तस्बिर पोल र सवारी साधनमा



भक्तपुर । भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्।

वर्षौदेखि काम हुँदै आए पनि अझै नसकेको भन्दै नगरकोट रोडका पोलपोलमा माथि जनावरको र तल ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो टाँसेका हुन्। अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दहालका घरबेटी समेत हुन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा पोलपोलका साथै त्यहाँ चल्ने सवारी साधनहरुमा पनि त्यस्ता फोटोहरु टाँगिएका छन्।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष प्रविण गुरुङले समयमै सडक विस्तार कार्य सकाउन दवाव दिने उद्देश्यले यसरी फोटो टाँसिएको बताए। यसबाट सरकार, राजनीतिक पार्टी मात्रै नभई सर्वसाधारणको पनि ध्यानाकर्षणका लागि यसो गरिएको उनले बताए।

आर्थिक वर्ष २०७२/०७३ मै सकिनुपर्ने सडक विस्तार योजना अझैसम्म नसकिंदा त्यहाँ पर्यटक चाहेर पनि पुग्न सकेका छैनन्। त्यसकारण त्यहाँ पुग्न चाहने पर्यटकहरुले डाइभर्ट भएर धुलिखेललगायतका ठाउँहरुमा पुगिरहेका छन्।

समितिको तथ्यांक अनुसार नगरकोटमा रहेका करिब चार दर्जन ठूला तथा साना होटलहरूले मौसममा दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने तथ्यांक छ। तर सडकको दुरावस्थाले अहिले उक्त कारोबार आधाले कमी आएको समितिले जनाएको छ। नगरकोटका होटलहरुले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्छन्।

काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने भने पनि व्यवहारमा भने त्यो लागु हुन सकेको छैन। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार ०७:५७