काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो लगानीका उद्देश्य परिवर्तन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। उसले विद्युत् उत्पादन गर्ने उद्देश्यको साटो लगानी गर्ने कम्पनीका रूपमा परिवर्तन गर्न प्रस्ताव गरेको हो।
प्रस्ताव कार्यान्वयनपछिको प्रभावबारे अध्ययन गर्ने सरकारले तयारी गरेको छ। औद्योगिक प्रवद्र्धन बोर्डले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले बुटवल पावर कम्पनीको उद्देश्य परिवर्तन गर्दा पर्ने प्रभावबारे अध्ययन गरी सुझाव पेस गर्नुपर्नेछ।
कार्यदलमा सदस्य समेत रहेका उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले बिना अध्ययन गरी कुनै पनि उद्योगलाई उद्देश्य परिवर्तन गर्न दिन नमिल्ने बताए।
‘आज एउटाले उद्देश्य परिवर्तन गरेपछि अर्काे उद्योगलाई पनि मन लाग्न सक्छ’, उनले भने, ‘भोलि जसको जहाँ नाफा हुने सम्भावना देखिन्छ उद्देश्य परिवर्तन गर्ने लहड चल्नसक्छ। त्यसैले उद्देश्य परिवर्तन गरेर भविष्यमा पर्ने दीर्घकालीन प्रभावबारे सोचविचार गरेर मात्रै अगाडि बढ्नु उचित देखिन्छ।’
औद्योगिक व्यवसाय ऐन २०७५ को दफा ४४ बमोजिम उद्योगको उद्देश्य संशोधन गर्न चाहेमा उद्योग दर्ता गर्ने निकायले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी उद्देश्य संशोधन गरिदिन सक्ने व्यवस्था छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।







Comment