फर्जी कागज बनाएर लोकसेवा आयोगमा सदस्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

फर्जी कागज बनाएर लोकसेवा आयोगमा सदस्य नियुक्त



काठमाडाैं । प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुलेको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ ।

आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो । थप दुई सदस्यमा सिफारिस भएका गुल्मीका बाबुराम गौतम र रूपन्देहीकी पोखरेल प्रदेश प्रमुख उमाकान्त झाबाट बिहीबार नियुक्त भएका थिए ।

राहेल प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलकी बुहारी हुन् । सिफारिस समितिमा उनी र सभामुख सदस्य छन् । नियुक्तिको खबर बाहिरिएपछि पोखरेलका विषयमा कागजपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को २ को उपदफा ५ अनुसार आयोगका सदस्यमध्ये कम्तीमा एकजना सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्य विज्ञान, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्त्वपूर्ण कार्य गरी ख्यातिप्राप्त गरेको व्यक्तिमध्येबाट नियुक्त हुने उल्लेख छ । तीन सदस्यमध्ये एक महिला अनिवार्य छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार ०८:१२