पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दा



काठमाडौँ । एटीएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ ।

प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुई वा दुईभन्दा बढी व्यक्ति संलग्न भएकाले यसमा संगठित अपराध पनि आकर्षित हुने परिसरले जनाएको छ।

यस्तै, इन्टरनेट सर्भर ह्याक गरी पैसा लुटेकाले साइबर अपराध पनि आकर्षित हुने परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जनाए ।

ह्याक गर्न प्रयोग गरिएका एक दर्जन उपकरण परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

उपकरणको रिपोर्ट प्राप्त भएपछि साइबर अपराध मुद्दाको अनुसन्धानमा परिपक्व प्रमाण भेटिने भएकाले प्रहरीले ल्याबको रिपोर्ट कुरिरहेको छ।

बैंकिङ कसूरमा चारदेखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

संगठित अपराध भने अन्य मुद्दासँगसँगै जोडेर लैजाने मुद्दा भएकाले यसमा अन्य स्थापित भएको मुद्दाको डेढ गुणा बढी सजाय हुने व्यवस्था छ।

साइबर अपराधमा पाँच वर्षसम्म सजाय र जरिवाना हुने व्यवस्था छ ।

शनिबार चीनबाट नेपाल आएका चिनियाँ नागरिकहरूले विभिन्न बैंकको एटीएम ह्याक गरी एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ लुटेका थिए ।

लुट्ने चिनियाँ नागरिकहरू ८ जनामध्ये पाँच जना शनिबारै पक्राउ परेका थिए भने चिनियाँ मुलका फ्रेन्च नागरिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको थियो । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

ह्याकिङ गरेर फरार चिनियाँको पैसा साट्ने तीन जना नेपालीहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिसकेको छ ।

पक्राउ परेका सात जना चिनियाँ र एक जना फ्रेन्च नागरिक नेपाल आउनुअघि पटक-पटक कम्बोडिया गएको अनुसन्धानमा देखिएको छ।

नेपाल आउनुअघि उनीहरू लामो समय कम्बोडिमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार १७:१९