सत्ता उल्टिने संभावना छ : प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सत्ता उल्टिने संभावना छ : प्रचण्ड



काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टिन सक्ने संभावना रहेको दाबी गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सँदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याएका हुन्।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने बताए। पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए।

उनले भने, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिए, यिनलाई पनि लखेठ्न पर्छ भन्ने विडम्बना देखियो इतिहासमा। हामीकँहा पनि यस्तो लक्षण देखा पेको छ।’उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टी भित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए। विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उनले गरे।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु बिर्सँदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेमा जोड दिए।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार १५:०९