फोर्स मर्जरको नीतिबाट राष्ट्र बैंक पछि हटेको छैनः डेपुटी गभर्नर शिवाकोटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

फोर्स मर्जरको नीतिबाट राष्ट्र बैंक पछि हटेको छैनः डेपुटी गभर्नर शिवाकोटी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले राष्ट्र बैंक फोर्स मर्जरको नीतिबाट पछि नहटेको बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमाथि मिडिया इन्टरनेशनलले आयोजना गरेको मौद्रिक नीति समिक्षा कार्यक्रममा बोल्दै उनले अहिले राष्ट्र बैंकले फोर्स मर्जरका लागि एक कदम अगाडी बढाईसकेको बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिमा मर्जरमा जाने बैंकहरुलाई प्रोत्साहन गरिएको भएता पनि आगामी बर्ष सम्म प्रोत्साहित मर्जरमा नजाने बैंकहरुलाई फोर्स मर्जर नीति ल्याइने उनले बताए ।

सार्वजनिक मौद्रिक नीति मुलुकको सम्पूर्ण अर्थतन्त्र विकास र वृद्धिमा सहयोग गर्ने नै भएको दावी गर्दै उनले मौद्रिक नीतिले नसमेटिएका विषयहरुलाई राष्ट्र बैंकले आगामी नीतिहरुमा समावेश गर्ने प्रतिवद्धता गरेका छन् । उनले बैंक मर्जरकै विषयमा केन्द्रित रहँदै नेपालमा विकास बैंक तथा वित्तीय कम्पनी १५/१५ वटा र वाणिज्य बैंकहरु १५ को संख्या उचित रहने उल्लेख गरे । साथै बैंकहरुले बीमा पोलिसीहरु कमिसनको लोभमा बिक्री गरेको हुँदा आवश्यकता भन्दा बढि बीमा पोलिसीहरु बैंकहरुबाट बिक्री गर्न नमिल्ले व्यवस्था राष्ट्र बैंकले गरेको बताए ।

यस्तै, बजेटमा सुनलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्न मिल्ने उल्लेख गरिएतापनि त्यसमा व्यवहारिक कठिनाईहरु भएको कारणले नीतिगत व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्न नसकेको डेपुटी गभर्नर सिवाकोटीको भनाई छ । उनले बजेटको लक्ष्य पुरा गर्नका लागि पनि राष्ट्र बैंकले चुनौति लिएरै मौद्रिक नीतिमा केही जोखिमहरु समेटेको उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै बैंक विज्ञ नरबहादुर थापाले राष्ट्र बैंकले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति विस्तारकारी भएको बताएका छन् । उनले मौद्रिक नीतिले व्याजदरलाई सम्बोधन गर्नु तथा साधारण पुनरकर्जामा सहुलियत दिने जस्ता कार्यक्रम समेट्नु स्वागत योग्य कदम भएको बताए । साथै विगत केही वर्षदेखि चलिरहेको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिमा राष्ट्र बैंकले केही परिवर्तन गर्नुपर्ने बताए । वाणिज्य बैंकहरुमा विकास बैंक तथा वित्त संस्थाहरु छुट्टाछुट्टै उद्देश्यले स्थापना भएको हुँदा सबै बैंक तथा वित्तीय कम्पनीहरुको स्थायित्व वित्तीय क्षेत्रमा चाहिने बताउँदै उनले विकास बैंक र वित्तीय कम्पनीहरु मासिन नदिन राष्ट्र बैंकलाई सुझाव दिएका हुन् ।

यसैगरि कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले मौद्रिक नीतिमा लघुवित्तहरुलाई पूर्ण नसमेटेको बताएका छन् । उनले लघुवित्तको पुँजी वृद्धि, मर्जर र स्रोत व्यवस्थापनमा राष्ट्र बैंकले उचित नीति नलिएको गुनासो गरेका हुन् । लघुवित्तहरुले विना धितो कर्जा प्रवाह गर्ने हुँदा जोखिम बढि यसै क्षेत्रमा हुने उल्लेख गर्दै लघुवित्तहरुको चुक्ता पुँजीको दायरा वृद्धि गरि संस्था दरिलो बनाउन राष्ट्र बैंकले भूमिका राख्नुपर्ने उनको भनाई हो ।

मौद्रिक नीति समिक्षा कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका सरोकारवाला व्यक्तिका साथै आर्थिक पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित : ९ श्रावण २०७६, बिहिबार १५:३२ 25 July, 2019 3:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।