नेपालको छुर्पी अमेरिकामा कुकुरले खान्छ ! यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

नेपालको छुर्पी अमेरिकामा कुकुरले खान्छ ! यस्तो छ कारण




काठमाडौं । इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन ।

उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ ।

कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।

मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका–३ का हरि पोख्रेल बताउँछन् ।

उनका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ ।

नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ ।

छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ ।

मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ ।

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए ।

उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्ने गरेका छन् ।

हाल उनी आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन। उनी प्रतिकिलो छुर्पी रु ९५० र घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्छन ।

प्रकाशित : १९ असार २०७६, बिहीबार १९:४४