जीवन बीमाप्रति धेरैको आकर्षण बढ्दै गएको छः चापागाईं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन बीमाप्रति धेरैको आकर्षण बढ्दै गएको छः चापागाईं



काठमाडाै । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विगत दुई वर्षयता बीमा कम्पनीहरुले ग्राहकलाई लक्षित गरी नयाँनयाँ प्रडक्ट ल्याउन शुरु गरेको बताएका छन् । सानिमा लाईफ इन्स्योरेन्सले शुरु गरेको घातक रोग रक्षावरण योजनाको शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ कम्पनीहरु आएसँगै बीमा क्षेत्र चलायमान भएको र जीवन बीमाप्रति धेरैको आकर्षण बढ्दै गएको उनले जनाए ।

बीमा ऐन संशोधनको लागि संसदमा रहेको र ऐन संशोधन भएर आएपछि क्यासलेस बीमा योजना सञ्चालन गर्न सकिने भन्दै उनले भने ‘क्यासलेस बीमा योजनाले सबैलाई बीमाको पहुँचमा ल्याउन सक्छ । कम्पनीहरुले ठूला रोगको मात्रै बीमा योजना ल्याउनुभन्दा सबै प्रकारका रोगको बीमा गर्ने व्यवस्था गनुपर्ने उनले सुझाए ।’ अभिकर्ताहरुले ग्राहकको आर्थिक स्तरको आधारमा बीमा गराउनुपर्ने र ग्राहकले बीचैमा बीमा पोलिसी कोल्याप्स गरेनन् भने कम्पनी र बीमित दुवैलाई फाइदा पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा शहिद धर्मभक्त अस्पतालकी सञ्चालक डा. कल्पना श्रेष्ठले १० प्रतिशत जनसंख्यामा कुनै न कुनै रुपमा मृगौला रोग रहेको र नेपालमा प्रतिवर्ष ३००० मानिसको मृगौला फेल हुने गरेको बताइन् । मधुमेह, उच्च रक्तचाप र दीर्घरोगका कारण लामो समयसम्म औषधी सेवन गर्दा मृगौला फेल हुने उनले बताइन् । उनले भनिन, ‘वर्षमा एक पटक मृगौला जाँच गराउनुस् ।’

त्यसैगरी मुटुरोगका चिकित्सक टि एन भट्टराईले माथिल्लो वर्गमा चेतनाका कारण हृदयाघात कम हुँद गएको तर न्यून आय वर्गकाले कमाएर मीठो खान थालेकाले हृदयाघातको समस्या बढेको बताए । मीठो खानु नै रोगको कारण भएकाले खानपीन र व्यायाममा ध्यान पुर्याउनुपर्ने उनको भनाई छ । आफूले गरेको आयआर्जनबाट बीमामार्फत थोरै बचत गर्न सके यसले जीवनको सुरक्षा र बचत दुवै हुने उनले बताए ।

सानिमाले ५० हजार देखि ५० लाख सम्मका घातक रोगको रक्षावरण योजना शुरु गरेको छ । मुख्यतः ११ वटा घातक रोगको रक्षावरण गर्ने उसले जनाएको छ । १८ वर्षदेखि ५५ वर्ष उमेर समुहका मानिसको ५ देखि २५ वर्षसम्मको स्वास्थ्यबीमा गर्ने कम्पनीले जनाएको छ ।

कमजोर र न्यून आय भएका मानिसले घातक रोग लागेमा उपचार गर्न असम्भव भएकाले उनीहरुको उपचारमा सहयोग पुर्याउन यो योजना शुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक डा. सुवर्णदास श्रेष्ठले घातक रोग लागेपछि बिरामी मात्र होइन परिवारलाई ठूलो असर पर्ने हुँदा त्यसलाई व्यवस्थापन गर्न यस्तो योजना सारिएको उल्लेख गरे ।

प्रकाशित : १९ असार २०७६, बिहीबार १५:५४