हिमालय उर्जा विकासको ४ गुणा बढी शेयर आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालय उर्जा विकासको ४ गुणा बढी शेयर आवेदन



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले जारी गरेको अन्तिम दिन माग भए भन्दा ४ गुणा बढी शेयर आवेदन परेको छ । उक्त सेयरमा ७२००० जना आवेदकहरुले ५१,३७,५५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।

सेयर बजार घट्दो अवस्थामा रहेको वर्तमान समयमा हिमालय उर्जामा लगानीकर्ताहरुको आकर्षणलाई सेयर बजार क्षेत्रमा उत्साहजनक सहभागिताको रुपमा लिएको छ । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक दुलालले बताए ।

कतिपय जलविद्युत् आयोजनाहरुको शेयर विक्री नभएको अवस्थामा ४ गुणा बढी आवेदन पर्नुुले कम्पनि छनौट गरेर प्राथमिक शेयर लगानी गर्ने प्रवृतिको विकास भएको रुपमा हिमालय उर्जाको सेयरलाई लिइएको छ ।

कम्पनीले यही चैत २० गतेदेखि १४,८५,००० कित्ता सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो सेयरको लागि पहिलो दिनमा राम्रो रेस्पोन्स पाएको थियो । सेयर खुलेको पहिलो दिन नै २१,५८० जना आवेदकहरुले १६,७०,९०० कित्ता सेयरको लागि रु. १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका थिए । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट कम्पनी रहेको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे।वा। को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा.का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

प्रकाशित : २६ चैत्र २०७५, मंगलवार १०:४२