‘साना किसान सम्मेलन-२०७५’ शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘साना किसान सम्मेलन-२०७५’ शुरु



काठमाडौँ । ग्रामीण क्षेत्रका गरीब व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आजदेखि राजधानीमा दोस्रो ‘साना किसान सम्मेलन-२०७५’ शुरु गरिएको छ। पहिलो सम्मेलन-२०७१ काठमाडौँ मै भएको थियो।

आज राष्ट्रिय शोक परेकाले अनौपचारिक रुपमा सो सम्मेलन शुरु गरिएको हो। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीलगायत सात जनाको ताप्लेजुङको फुङलिङस्थित सिस्नेभीरमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना भई असमायिक मृत्यु भएका कारण आज राष्ट्रिय शोक मनाइएको हो।

कृषि विकास बैंकले पहिले ६५२ गाउँ विकास समितिका झण्डै दुई लाख १० हजार साना किसान परिवारलाई समेटेर गाउँ गाउँमा साना किसान विकास आयोजना सञ्चालन गरेकाले किसानका कार्यक्रम विस्तार भएको इतिहास पाइन्छ।

पछिल्लो पटक यस कार्यक्रमभित्र लक्षित वर्गको सशक्तीकरण र किसानको नेतृत्वदायी भूमिका हुुनुपर्ने आवश्यकता महसुस हुँदै आएको छ। “साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताको विकस’ भन्ने मूल नाराका साथ शुक्रबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशभरका एक हजार २०० साना किसानको सहभागिता छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा शुरु भएको सम्मेलनमा २८ कार्यपत्रमा छलफल गरिने भएको छ। पहिलो सम्मेलन ‘गरीबी न्यूनीकरणका लागि ग्रामीणस्तरीय सबल संस्था निर्माण’ भन्ने अभियानका साथ १९ बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दे सम्पन्न भएको थियो। सम्मेलनले सन् २०२५ सम्म व्याप्त गरीबी न्यूनीकरणका लागि सुनिश्चिततासहितको लक्ष्य प्रस्ताव गरेको थियो।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, अन्य लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान कृषि सहकारी संस्थाक जिल्ला सङ्घ, साना किसान कृषि सहकारी संस्था लि र समान प्रकृतिका अन्य लघुवित्त संस्थाका पदाधिकारीको कार्यक्रममा उपस्थिति छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सम्मेलनमा कृषिको दिगो विकासका लागि वित्तीय संस्थाको लगानी प्रमुख मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरे।

मुलुकमा ३४ हजार सहकारी दर्ता भएकामा करीब १० हजार विषयगत कृषि सहकारी संस्था भएपनिर पनि कृषि क्षेत्रमा परनिर्भरता घट्न सकेको छैन। पछिल्लो तथ्याङ्कअनुसार नेपालले चामलमात्र प्रतिमहीना दुई अर्बको आयात गर्दै आएको छ।

झण्डै एक हजार सहकारी संस्थाले नेपालको सात लाखभन्दा बढी विपन्न एवं साना किसानलाई समेटी कूल रु ४४ अर्बभन्दा बढी कृषि क्षेत्रमा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिमा ठूला लगानी आकर्षित नभएसम्म आयात प्रतिस्थापन हुननसक्ने बताए।

अण्डा र कुखुराको मासुबाहेक नेपालमा तरकारी, चामल, फलफूल तथा माछा मासुको आयातमा वृद्धि भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित : १६ फाल्गुन २०७५, बिहीबार ०८:१५