रामेछापमा जनता बैंकको निशुल्क स्वास्थ्य शिविर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रामेछापमा जनता बैंकको निशुल्क स्वास्थ्य शिविर



काठमाडौं । जनता बैंकले रामेछापमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले फागुन ८, ९ र १० गते रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा उक्त शिविर संचालन गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ०७:४२